दोलखा महोत्सव हुँदै

काठमाडौँ ।  दोलखाको आर्थिक विकास गर्ने उद्देश्यका साथ उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस १३ देखि २२ गते सम्म ‘दोलखा महोत्सव–२०८०’ हुने भएको छ ।

गौरीशङ्कर हिमालको काखमा रहेको दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रङ्गशालामा १० दिनसम्म सञ्चालन हुनेछ ।

महोत्सवको तयारीबारे सङ्घले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिँदै महोत्सवमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य, वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल, एशोसियटतर्फका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसीलगायत, जिल्लाका नेताहरू, कलाकार जाने कार्यक्रम रहेको जानकारी दिइएको हो ।

उद्घाटन समारोहमा दोलखा जिल्लाका विभिन्न जातजाति, भाषाभाषीका कला संस्कृति समेटिएको प्रस्तुति, झाँकीसहितका र्‍यालीले बजारका विभिन्न भागको परिक्रमा गरेर भीमेश्वर रङ्गशालामा पुगेपछि उद्घाटन समारोह सुरु गरिनेछ ।

महोत्सवले दोलखा जिल्लालाई पर्यटन, कृषि, अन्नबाली र जलस्रोतमा अब्बल जिल्लाका रूपमा उभ्याउन आर्थिक विकासमा फड्को मार्ने खुड्किलो बन्ने अपेक्षा आयोजकले गरेको छ ।

महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री वितरण तथा प्रवर्द्धन गर्न एक सय ५० वटा स्टल राखिनेछ । स्टलहरूमा दोलखाका सबै स्थानीय तहहरू, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समूह, सङ्घ संस्था, उद्योगी व्यवसायीका उत्पादन, सामग्रीलगायत प्रदर्शनीका लागि राखिनेछ साथै विभिन्न खानाका परिकारहरू स्टलमै उपलब्ध हुनेछ ।

अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन ‘न्यु ईयर ईभ’ का रूपमा मनाउने संसारभरको प्रचलनअनुसार दोलखा भ्रमणमा आएका पर्यटकको स्वागत गर्नका लागि उक्त दिन चरिकोट बजार क्षेत्रमा ‘स्ट्रिट फुड फेस्टिभल’ आयोजना गर्ने कार्यक्रम रहेको छ ।

सङ्घका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले महोत्सवमा तीन लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने रु पाँच करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको र समग्रमा दोलखाको आर्थिक विकास गर्ने उद्देश्य रहेको बताउनुभयो ।  

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ७ : ०५ बजे