बाइकसंग ठोक्किएको बस स्थानीयले जलाए, बीपी राजमार्ग अवरुद्ध (अपडेट)

काठमाडौं । सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आगो लगाएका छन् । साथै उनीहरूले दोषीलाई कारबाहीको माग गर्दै सडक अवरुद्ध गरेका छन् ।

बसमा आगजनी भएपछि आज बिहानदेखि राजमार्ग सवारी आवागमन अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अहिले अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहेको छ । साथै दुर्घटनामा मृत्यु भएका दुवै जनाको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

रामेछापको मन्थलीबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को पूर्वअरनिको यातायात सेवा समितिको बसले काठमाडौंबाट खुर्कोटतर्फ जाँदै गरेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई आज बिहान सुनकोशी गाउँपालिका बोहोरेटार–३ मा ठक्कर दिएको थियो ।

दुर्घटनामा खोटाङको दिक्तेल नगरपालिका–१० रुपाकोटकी १८ वर्षीया मुनाकला राई र खोटाङकै तुवाचुङ नपा–२ का मोटरसाइकल चालक कुमार राईको मृत्यु भएको थियो ।

दुर्घटनापछि प्रहरीले बस चालक रामेछापको मन्थली नपा वडा नं– १३ फुलासीका २४ वर्षीय रुपेश अधिकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १ : ५५ बजे