मन्त्री किराँतीको बोली प्रधानमन्त्री प्रचण्डको लोली

“सरकार वा राजनीतिक दल जसलाई बाह्य शक्तिको आशीर्वादहरू प्राप्त भइरहेको हुन्छ, त्यो सरकार वा दल बाह्य शक्ति कै निर्देशन र नियन्त्रणमा रमाउँछ र क्रियाशील भइरहन्छ।”

नेपालमा पनि २०४६ सालको राजनीतिक परिवर्तनपछि त्यस्ता बाह्य शक्तिका लागि कम्फर्टेबल सरकार र सहयोगी दलहरू नबनेका होइनन् । कोही प्रजातन्त्रका नाममा त कोही क्रान्तिको आवरणमा नेपालको राजनीतिमा देखिए र सक्रिय पनि भइरहेका छन् । अहिले त नयाँको आवरणमा आयातित मुद्दा बोकेर जनता झुक्याउने लोकप्रिय राजनीति पनि गरिरहेका छन् । तर यति बेला प्रचण्ड नेतृत्वको सरकारले गरेका केही विवादित गतिविधिहरू अनि प्रधानमन्त्री र मन्त्रीका बोलीहरूको कारण खोज्नुपर्ने भएको छ। विविध प्रसङ्गलाई लिएर यो लेखकले आफ्नो धारणा पाठकसमक्ष पुर्‍याउन खोजेको छ ।

काठमाडौँमा आयोजित क्रिश्चियन महोत्सवमा प्रमुख अतिथिका रूपमा पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको बोलीलाई आधार बनाएर सत्ता गठबन्धन र प्रधानमन्त्री प्रचण्डको दल माओवादी केन्द्रको राजनीतिका बारेमा संक्षिप्त चर्चा गर्न खोजिएको छ। कार्यक्रममा मन्त्री किराँतीले भनेका थिए, “नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ। क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन्। देशद्रोही हुन्। उनीहरूलाई हतकडी गाएर जेल हाल्ने हो। संसारमा ३० प्रतिशत मान्छेले क्रिश्चियन धर्म मान्छन्। संसारले मानेको धर्म हामीले नमान्ने? प्रधानमन्त्री प्रचण्ड ज्यू जिससजस्तै विद्रोही नेता हो, उहाँको सबै कुरा जिससजस्तै मिल्छ। जिसस अहिले जन्मेका भए प्रचण्डजस्तै हुन्थे।”

हामीले पर्यटन तथा संस्कृति मन्त्रीको समर्थन वा आलोचना गर्नुभन्दा अगाडि प्रधानमन्त्री प्रचण्ड र उनको दल अनि सत्ता गठबन्धनको पृष्ठभूमि र चरित्र बुझ्नुपर्छ। अन्यथा हामी काठमाडौँमा आयोजित क्रिश्चियन महोत्सवमा प्रमुख अतिथिका रूपमा मन्त्री किराँतीले बोलेको कुराको सही विश्लेषणका साथ निष्कर्षमा पुग्न सक्दैनौँ। त्यसैले पहिला उनीहरूको पृष्ठभूमि, नीति र नियतका बारेमा हामी स्पष्ट हुनुपर्छ।

जनयुद्ध र क्रान्तिका नाममा सशस्त्र द्वन्द्वमा प्रचण्डको नेतृत्वमा हिजो जे-जस्ता अवाञ्छित र अराजनीतिक अनि ध्वंस र हिंसाका जस्ता गतिविधिहरू भएका थिए, त्यसका पछाडि कसको नैतिक तथा भौतिक समर्थन थियो, हामीले थाहा पाउनुपर्छ। २०४६ सालको जनआन्दोलनले ल्याएको राजनैतिक तथा संवैधानिक व्यवस्था तत्कालीन दरबारलाई मन परेको थिएन भने ईण्डोवेस्ट पनि परिवर्तनपछि आफ्नो स्वार्थ पूरा गर्ने राजनीतिक शक्ति कमजोर बन्दै गएकोमा चिन्तित थियो। दरबारको इच्छा पूरा गर्न र ईण्डोवेस्टको चिन्ता हटाउन प्रचण्डको नेतृत्वमा सशस्त्र द्वन्द्वको नेतृत्वमा खेती सुरु गरिएको थियो। त्यो द्वन्द्वमा के के भयो, हामी सबैलाई धेरथोर थाहा नै छ।

प्रचण्डको नेतृत्वमा भएको भनिएको सशस्त्र द्वन्द्वका धेरै घटनाहरू मध्ये मन्त्री किराँतीको बोलीको प्रसङ्ग बुझ्न द्वन्द्वका बेलामा नेपाल संस्कृत विश्वविद्यालयको पुस्तकालयमा लगाइएको आगो र त्यो आगोले ध्वस्त बनाएको पुस्तकालय, पण्डित नारायणप्रसाद पोखरेल र शिक्षक मुक्तिनाथ अधिकारीको हत्याको अभीष्ट बुझ्नुपर्छ। यी सबै घटनाका पछाडि नेपालमा धर्मान्तरणका गतिविधिहरू गर्न सहज बनाउनु थियो। यो खुला रहस्य हामीले बुझ्न सक्नुपर्छ।

मन्त्री सुदन किराँतीले जे बोले त्यसमा प्रधानमन्त्री प्रचण्डको पनि सहमति छ किनभने विवादित अभिव्यक्ति दिएर धार्मिक सद्भाव भड्काउन खोज्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त त परको कुरो स्पष्टीकरण पनि सोधेका छैनन्। त्यसैले राजीनामा किराँतीको माग्ने होइन, प्रधानमन्त्री प्रचण्डको माग्नुपर्छ। तर मन्त्रीको राजीनामा मागेर प्रधानमन्त्रीलाई सजिलो बनाउने खोज्ने पछिल्लो राजनीतिले नेपालमा एकातिर राजनैतिक तथा संवैधानिक अस्थिरता सिर्जना गर्न खोजेको छ भने अर्कातिर कम्फर्टेबल सत्ता गठबन्धन कायम राखेर बाह्य शक्तिको इच्छालाई सर्वोपरि बनाउन खोजिँदै छ। यसका लागि एउटा मोर्चाको नेतृत्व राप्रपाले गर्दैछ भने अर्को मोर्चाको नेतृत्व रास्वपाले गरिरहेको छ।

सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा आएको प्रतिक्रिया र मन्त्रीको राजीनामाको माग रूपमा हेर्दा सान्दर्भिक र राजनीतिक देखिएता पनि सारमा प्रचण्ड नेतृत्वको कम्फर्टेबल सरकार कायम राखेर पूर्व दोबारियाको इच्छा र बाह्य शक्तिको स्वार्थहरू पूरा गर्नु हो। त्यसैले विना भय प्रधानमन्त्री प्रचण्डको राजीनामा मागिनु पर्छ। नेपाली काँग्रेस के सोच्दैछ ? प्रश्न गरौँ !

जबसम्म राजनीतिमा नवउदारवाद, उपयोगितावाद, स्टन्टबाज र भ्रमपूर्ण लोकप्रियतावादले प्राथमिकता पाइरहन्छ तबसम्म नेपालको राजनीति स्वच्छ र वैचारिक बन्दैन र लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने वातावरण बनिरहन्छ। राजनीति प्रदूषित भएर ईण्डोवेस्टको प्रभाव र दबाबमा सत्ता सञ्चालन गर्ने राजनीति बलशाली भइरहन्छ। तर सञ्चारकर्मीहरू भने असान्दर्भिक प्रश्न गरेर जनताको मन भ्रमित बनाउने काम पनि गरिरहेका छन् । पुराना जति सबै खराब भन्ने गलत भाष्य स्थापित गर्ने प्रयास गरेर देश र जनतालाई घात गर्दैछन्।

मन्त्री किराँतीको अभिव्यक्तिपछि नेकपा माओवादी केन्द्रलाई लिएर एमाले नेता गोकुलप्रसाद बास्कोटा भन्छन्, “माओवादीहरू अरू कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो।”

नेपाल प्रेसले आफ्नो सम्पादकीयमा लेख्छ, “संविधानको धारा ४ ले सनातनदेखि चलिआएको धर्म-संस्कृतिको संरक्षण गर्ने दायित्व सरकारलाई सुम्पिएको छ। सनातनदेखि चलिआएको धर्म-संस्कृति भन्नाले हिन्दु, बौद्धलगायत ओमकार परिवारले मान्ने धर्म तथा स्वयं मन्त्री किराँतीको सम्प्रदायले मान्ने किराँत र प्रकृतिलगायतका परम्परागत धर्म-संस्कृति हुन्। तर, मन्त्री किराँतीले संविधानको धारा ४ नमान्न उक्साएर (उनकै शब्दमा) ‘देशद्रोह’ गरेका छन्। उनले भनेको मान्ने हो भने सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गरेर हतकडी लगाउँदै झ्याखानामा हाल्नुपर्छ। यो अरूको माग होइन, उनकै भनाइ हो।”

एउटा कुरो हामीले हेक्का राख्नुपर्छ, “जनयुद्ध कालमा प्रचण्डहरू भन्थे, माओवादी बन नत्र गोली हान्दिन्छौं। गणतन्त्र कालमा सरकारको नेतृत्वमा बसेर प्रचण्डहरू भन्दैछन्, ईसाई बन नत्र जेल हाल्दिन्छु।” जसका कारणले लोकतान्त्रिक गणतन्त्र विरोधीहरू सनातनको आडमा गणतन्त्र होइन, राजतन्त्र चाहिन्छ, भन्दैछन्। त्यसैले यति बेला एकातिर कम्फर्टेबल सत्ता गठबन्धनका गतिविधिहरूका कारणले लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने आधार बन्दैछ भने अर्कातिर गणतन्त्र विरोधीहरू व्यवस्थाका विरुद्ध सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरेर रमाउँदै छन्।

मन्त्री किराँतीका बोलीमा प्रधानमन्त्री प्रचण्डको लोली मिलेको छ भन्न कुनै कञ्जुस्याईं गर्नु पर्दैन। हिजो २०४६ सालको परिवर्तनमाथि दरबारको धावा बोल्न सघाउने गरी सशस्त्र द्वन्द्वको खेती गरेका प्रचण्ड आज सरकारको नेतृत्व गरेर लोकतान्त्रिक गणतन्त्र विरोधीहरूको मनोबल बढाउने गरी राज्य सञ्चालन गरिरहेका छन् र नेपाली काँग्रेस मुख्य सहयोगी बनिरहेको छ। तिनीहरूले बुझुन्, लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र होइन, परिपूर्ण लोकतान्त्रिक गणतन्त्र हो।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ७ : ५७ बजे