दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

स्केट बोर्ड प्रतियोगितामा नेपालको वर्चस्व

काठमाडौँ – पाँचौँ दक्षिण एशियालीस्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रामा नेपालले वर्चस्व जमाएको छ।

प्रतियोगितामा सिनियर पुरुष, सिनियर महिला र जुनियर पुरुषमा गरी ३ स्पर्धामा ३/३ स्वर्ण, रजत र कांस्यका लागि प्रतिस्पर्धा भएको थियो। त्यसमा नेपालले ३ स्वर्ण, २ रजत र ३ कांस्य हात पार्दै वर्चस्व कायम गरेको हो।

नेपाल स्केटिङ तथा स्केटबोर्ड संघ र स्केट एड नेपालद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर पुरुषमा शरद् राई पहिलो, वसन्त राई दोस्रो तथा धिरज परियार तेस्रो भए। सिनियर महिलामा समीक्षा राईले स्वर्ण, खुसी विकले रजत तथा स्वाती श्रेष्ठले कांस्य जिते।

पुरुष/महिलामा दुवैमा पहिलो हुनेले १ हजार, दोस्रोले ५ सय र तेस्रोले २५० अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्। रुपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा भएको प्रतियोगिताको जुनियर पुरुषमा अभिषेक परियार प्रथम, भारतका मोहम्मद बिन जावेद द्वितीय र कर्मा लामा गुरुङ तेस्रो भए। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ सय, १५० र १ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।

पुरुष/महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा भएको थियो। दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुंगो लगाइएको थियो।

विजेतालाई आयोजक संघका अध्यक्ष अच्युत खनाल, उपाध्यक्ष एवं प्रतियोगिता संयोजक जागृत पहाडी, महासचिव सत्य थापालगायतले पुरस्कृत गरे।

समापनका अवसरमा गजेन्द्र बर्देवालाई वर्षको उत्कृष्ट स्केटर अवार्डबाट पुरस्कृत गरिएको थियो। उनलाई अवार्डसहित २ सय अमेरिकी डलर पुरस्कार प्रदान गरियो।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सका ३ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष खनालले जानकारी दिए।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ९ : २१ बजे