दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

‘बुकी कप’ भलिबल आजदेखि, विभागीयसहित पाँच टिम सहभागी हुँदै

गण्डकी । राष्ट्रिय स्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आजदेखि बागलुङको गलकोटमा सुरु हुने भएको छ । 

पोखराको हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको सबै तयारी पूरा भएको जनाइएको छ ।

उक्त प्रतियोगितामा तीन विभागीयसहित पाँच टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक मोहन केसीले बताउनुभयो । उहाँका अनुसार त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र गलकोट नगरपालिकाको टिमले उक्त प्रतियोगितामा भाग लिनेछ ।

पहिलो पटक आयोजित सो प्रतियोगितामा प्रथम हुनेले नगद रु पाँच लाख, दोस्रो हुनेले रु दुई लाख ५० हजार र तेस्रो हुनेले रु एक लाख २५ हजार पुरस्कार पाउने संयोजक केसीले जानकारी दिनुभयो ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु २० हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई रु १० हजार, उत्कृष्ट सेटरलाई रु छ हजार, उत्कृष्ट स्पाइकरलाई रु छ हजार, उत्कृष्ट ब्लकरलाई रु छ हजार, उत्कृष्ट डिफेन्डरलाई रु छ हजार, उत्कृष्ट सर्भरलाई रु छ हजार र म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद रु दुई हजार प्रदान गरिने संयोजक केसीले बताउनुभयो ।

गलकोट नगरपालिका र गलकोट नगर खेलकुद विकास समितिसँगको समन्वय तथा नेपाल भलिबल सङ्घ, गण्डकी प्रदेश भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ बागलुङ, गलकोट उद्योग वाणिज्य सङ्घ र नगर भलिबल सङ्घ गलकोटसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको उहाँको भनाइ छ ।

प्रतियोगिता गलकोट नगरपालिका–६ स्थित मजुवा फाँटमा सञ्चालन हुनेछ । सोही अवसरमा साङ्गीतिक कार्यक्रम, नृत्य प्रतियोगिता ‘गलकोट डान्स आइडल’, रमाइलो मेलालगायत सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता अवधिभर नेपाली सङ्गीत क्षेत्रका विभिन्न कलाकारको प्रस्तुति रहने संयोजक केसीले उल्लेख गर्नुभयो ।

“धवलागिरि क्षेत्रमै पहिलो पटक सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुँदैछ, खेल पर्यटनका माध्यमबाट गलकोटलाई थप चिनाउन यो प्रतियोगिता सहयोगी बन्नेछ”, उहाँले भन्नुभयो, “पहिलो दिनको खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिइनेछ, त्यसपछिका खेल अवलोकनका लागि न्यूनतम टिकट शुल्क तोकेका छौँ ।” भलिबल प्रतियोगितासहितको सांस्कृतिक कार्यक्रम यही पुस १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ६ : ४९ बजे