लमजुङ जिल्लाका विकास आवश्यकताहरू, जनताले भोगिरहेका कठिनाइहरू, समस्याहरू र ती समस्याहरू समाधान गर्न कहाँ–कहाँ के के गर्नुपर्छ भनेर धेरै वटा बुँदामा पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राखिसक्नुभएको छ । त्यसमा हाम्रो ध्यानाकर्षण भइसकेको छ र त्यसमा मैले धेरै समय लिइरहनुपर्छ जस्तो लाग्दैन । उहाँले उठाउनुभएका समस्याहरू, यहाँ हामी आउँदा आउँदै विभिन्न पालिकाको तर्फबाट उठाइएका समस्याहरूमा हाम्रो ध्यान गएको छ । हामी अस्तिकै दिन गण्डकी प्रदेश प्रवेश गरेका हौँ । भोलिसम्म हामी गण्डकी प्रदेशमा रहन्छौँ । गण्डकी प्रदेशकै समग्र समस्या हामीलाई थाहा भइसकेको छ ।
सबैभन्दा महत्वपूर्ण कुरा नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि गएको अढाइ वर्षमा नेपाल नराम्ररी ओरालो लाग्यो । राजनीति बिग्रियो । अस्थिरता, अन्योल, असन्तुष्टि, अराजकता सिर्जना भयो । विभिन्न प्रकारका फाटोवादी, अस्थिरतावादी, प्रतिक्रियावादी शक्तिहरू सल्बलाउनेसम्मको स्थिति बन्यो । राजनीति ओरालो लाग्यो । देशको अर्थतन्त्र त्यसैगरी ओरालो लाग्यो । विकास निर्माणका कामहरू ठप्प भए । अहिले भर्खरै पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नुभएको मागपत्रमा यहीं कुरा उल्लेख छ । बाटाहरू भत्किए । मैले धेरै ठाउँमा देखेँ । नेकपा (एमाले)को समयमा बनाइसकेका बाटाहरू यो अढाइ वर्षमा भत्किएका छन् । ती बाटाहरू मर्मतसंभार गरिएको छैन । बनाउँदै गरेका बाटाहरू बनाउने क्रम ठप्प रोकियो । पूर्वाधारको विकासमा भएको व्यवधानका कारण जनताले दुःख भोगेका छन्, असुविधा भोगेका छन् । यहाँको जनजीवन कष्टकर भएको छ, यहाँको कृषि, व्यापार, पर्यटन जस्ता सबै कुरामा प्रतिकुल असर पारेको छ । बाटो नभएपछि, बिजुली नभएपछि, सञ्चार सम्पर्क नभएपछि देश अगाडि बढ्न सक्दैन, कसरी अगाडि बढ्ने ?
तसर्थ यो अढाइ वर्ष वास्तवमा देशलाई बर्बादीतिर धकेल्ने वर्षहरू भए । किन यस्तो भयो ? यसले के बताउँछ ? यसको अर्थ हो– नेकपा (एमाले) बाहेक जतिवटा पार्टी मिले पनि राजनीतिलाई स्थिर बनाउने काम, लोकतन्त्रलाई बलियो बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने काम, विकास निर्माणलाई अगाडि बढाउने काम, अर्थतन्त्रलाई अगाडि बढाउने काम, समाजलाई एकताबद्ध बनाउने काम, समाजमा आशा, भरोसा, उत्साह र विश्वास जगाउने काम भएन । नेकपा (एमाले) बाहेक अरुले त्यो काम गर्न सक्दैनन् र गर्न सकेनन् ।
हामीले कोभिडको समयमा त्यसको पनि सफतापूर्वक सामना ग¥यौँ । भूकम्पको पनि सामना ग¥यौँ । भूकम्पले भत्काएका नौ लाख घरमध्ये साढे ८ लाखभन्दा बढी घर हामीले पुनःनिर्माण गरेर पीडितलाई हस्तान्तरण गर्यांै। भूकम्प जाने बित्तिकै पनि हाम्रो पार्टीले २८÷२९ हजारभन्दा बढी अस्थायी घर निर्माण गरेर पीडितहरूलाई हस्तान्तरण गरेको थियो । आवासको प्रबन्ध गरेको थियो । १३ सय विद्यालयहरू, स्वास्थ्य चौकी र अरु संस्थाहरू, सरकारी भवनहरू अस्थायी रूपमा निर्माण गरेर हस्तान्तरण गरेको थियो । त्यो क्षमता नेकपा (एमाले) ले देखाएको थियो । त्यो काम पूरा हुन पाएको थिएन, कोभिड लागेर लगभग देश नै आक्रान्त भयो । त्यस्तो अवस्थामा नेकपा (एमाले)ले फेरि पनि विकास निर्माणको लहर अगाडि बढाएको थियो । सात प्रतिशतभन्दा बढी उत्पादन वृद्धिदर पुर्याएको थियो । एमालेको सरकार बन्नुभन्दा अगाडि वर्षमा १० किलोमिटर सडक कालोपत्रे हुन्थ्यो भने एमालेको सरकारले साढे पाँच किलोमिटरभन्दा बढी एकै दिनमा निर्माण गर्यो । अरुले एक वर्षमा गरेको काम एमालेले दुई दिनमा गर्दथ्यो । एमालेले दुई दिनमा ११ किलोमिटरभन्दा बढी बाटो तयार गर्यो, अरुले वर्षमा १० किलोमिटर । अहिले त त्यो १० किलोमिटर पनि के होला भन्ने अवस्था छ । कहीँ पनि विकास निर्माण छैन । विकास निर्माण नभएपछि व्यापार, कारोवार छैन । निर्माणकर्ताहरूले गरेका कामको भुक्तानी नपाएपछि बैंकको ऋण तिर्न नसकेपछि उनीहरू आफैं सङ्कटमा पर्ने, निर्माण व्यवसायको सङ्कटले गर्दा हार्डवेयर व्यवसाय, त्यसले गर्दा विभिन्न प्रकारका उत्पादनहरूमा प्रतिकूल असर पर्ने भयो । रोजगारीका अवसरहरू गुम्ने भए । त्यस प्रकारको स्थिति हामीले देख्यौँ । तसर्थ स्पस्ट छ– राष्ट्रियताको सवाल होस्, शान्ति सुव्यवस्थाको सवाल होस्, सुशासनको सवाल होस्, विकासको सवाल होस्, सामाजिक सुरक्षा लगायतका सामाजिक जीवनमा आइपर्ने अनेक समस्याहरूलाई सही ढङ्गले समाधान गर्ने सम्बन्धमा जे कुराहरू नेकपा (एमाले)ले अगाडि बढाएको थियो, ती अवरुद्ध हुँदै गए, ठप्प हुँदै गए अर्थात् एमालेले सुरु गरेको कामसमेत अरुले अगाडि बढाउन सक्दो रहेनछ । तसर्थ, अब यही रफ्तारमा देशलाई ओरालो लागिरहन दिनु हुँदैन । त्यसका निम्ति हामी वैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ सिक्किमसँग सीमा जोडिएको ठाउँसम्म मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा गरिरहेका छौँ । एकढङ्गले बनिसकेका दुई वटा पुल बाहेक त्यो राजमार्ग अहिले अलपत्र परेको छ, भत्किएको छ, उप्किएको छ, पहिरो गएका ठाउँमा निर्माण भएको छैन, कतिपय ठाउँमा बल्लबल्ल गाडी छिर्ने बनाएको छ । अत्यन्तै जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । गाडी हल्लिएर यति ठूलो समस्या हुन्छ कि एक दुई दिन त्यस बाटोबाट हिँड्दा मान्छे बिरामी बनाउँछ । त्यस्तो खालको अवस्था छ । यो अवस्था भएको हुनाले यसबाट कसरी पार पाउने ? देशभरिका दाजुभाइ दिदीबहिनीहरूसँग भेटेर, उहाँहरूका सुझाव लिएर के कस्ता सुझावहरू, के कस्ता सल्लाहहरू आउँछन् ? त्यसका आधारमा अगाडिका योजना बनाउने छौँ । हामीले त्यसकारण यात्रा क्रममा बुद्धिजीवीहरू, डाक्टरहरू, प्राध्यापकहरू, वकिलहरू, पत्रकारहरू, मजदुरहरू, किसानहरू, विद्यार्थीहरू, शिक्षकहरू सबैसँग परामर्श गरिराखेका छौँ । व्यापारीहरूसँग, उद्यमीहरूसँग सम्पर्क सम्बन्ध गरिराखेका छौँ । तसर्थ यो यात्रा समृद्धिका लागि सङ्कल्प यात्रा हो । हामीले एउटा परिकल्पना गरेका छौँ– समृद्ध नेपाल, सुखी नेपाली । त्यसलाई ध्वस्त पार्नका लागि केही तत्वहरू यतिबेला लागिरहेका छन् । त्यसलाई छिट्टै रोक्न र फेरि देशलाई विकासको गतिमा अगाडि बढाउन नेकपा (एमाले) कृतसङ्कल्पित छ । त्यही सन्देश जनतामा पुर्याउन, जनताका कुरा सुन्न, जनताको अवस्था देख्न, जनताका समस्याहरू बुझ्न हामी हिंडेका हौँ । हामीले जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट भएको क्षति हेर्यौँ । हाम्रा स्वयंसेवकहरूले गरेका काम हेर्यौँ । उहाँहरूलाई मैले धन्यवाद दिएको छु र फेरि पनि धन्यवाद भन्न चाहन्छु । हाम्रा स्वयंसेवकहरूले अत्यन्त राम्रो काम गर्नुभएको छ । खाली अस्थायी घरहरू मात्रै होइन, स्थायी नै घरहरू बनाएर गरिबहरूलाई, पीडितहरूलाई हस्तान्तरण गर्नुभएको छ । थुप्रै काम त्यहाँ गर्नुभएको छ । त्यसको फेहरिस्ततिर म नजाऔंँ ।
अब हामीले गाउँघरमा निर्वाहमुखी कृषि वा व्यवसाय मात्रै होइन, सबै कृषि वा अन्य व्यवसाय पनि विकासमुखी, नयाँ आधुनिकतातर्फ उन्मुख, नयाँ प्रविधिको प्रयोग गरेर अगाडि बढाउनुपर्ने आवश्यकता छ । हामीसँग खेतहरू बाँझै छन्, तिनमा सिंचाइ पुर्याउनुपर्ने छ । अझै पनि हामीले भनेका जस्ता बाटा हुन सकेका छैनन् । बाटाहरूलाई छोटा बनाउनका लागि सुरुङको बाटो खोल्नुपर्ने छ । पहाडबाट पारिपट्टी जानु छ भने सुरुङको बाटोबाट १० किलोमिटर, २० किलोमिटरको दूरी एक वा डेढ किलोमिटरमा पुगिन्छ । त्योसँग अरु लिङ्करोडहरू जोडे हुन्छ । त्यस ढङ्गले हामीले सुरु गरेका हौँ । जुन एउटा सुरुङ (थानकोट) हामीले सुृरु गर्यौं, त्यही तयार हुँदैछ । अरु त्यस दिशामा सरकारले सोच्न सकेको छैन । तसर्थ हामी एउटा कसरी नयाँ ढङ्गले नेपाललाई अगाडि बढाउने त्यस विषयमा सोचिरहेका छौंँ । त्यही सोचलाई अगाडि बढाउने क्रममा यो यात्रा, अभियान गरिरहेका छौँ ।
म लमजुङ निवासी दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु– हामी यस यात्रामा आउँदा जनतामा जुन उत्साह, एमालेप्रतिको आशा, विश्वास र भरोसा देख्यौंँ । त्यसबाट हामी एकदमै उत्साहित भएका छौंँ । हामीलाई झुलाघाटबाट यात्रा प्रारम्भ गर्नु अघिदेखि नै दाजुभाइहरूले अत्यन्तै आदर र स्नेहका साथ स्वागत गर्नुभयो । बाटोमा अहिलेसम्म हामी जहाँ–जहाँ पुग्यौँ, त्यहाँ स–साना बालबालिकाहरूदेखि ज्येष्ठ नागरिकहरूसम्म सबैले अत्यन्तै उत्साहका साथ, खुशीका साथ हाम्रो यात्रालाई स्वागत, सम्मान गर्नुभयो र हाम्रो यात्राको सफलताको शुभकामना गर्नुभयो । त्यसैगरी हामीलाई कास्कीले धुमधामसँग स्वागत गर्यो, धुमधामसँग विदाइ गर्यो । लमजुङले जिल्ला प्रवेश गर्दा धुमधामसँग स्वागत गरेको छ । अहिले हामी यहाँसम्म आइपुग्दा अत्यन्तै राम्रो स्वागत पाएका छौंँ, अत्यन्तै विश्वास पाएका छौँ ।
तसर्थ म साथीहरू, दाजुभाइ दिदीबहिनीहरूलाई धेरै–धेरै धन्यवाद भन्न चाहन्छु । अब हामी गोरखा पुग्नुपर्ने छ । यहाँहरूको उत्साह देखेर हाम्रो आफ्नै आत्मविश्वास र मनोबल पनि बढेको छ । हामी सबैले उच्च मनोबल र एकताका साथ अगाडि बढ्नुपर्छ । मिसन ०८४ लाई हामीले साकार पार्नुपर्छ । यी सबै कुराको व्याख्या लिएर हाम्रा कमरेडहरू, नेताहरू, कार्यकर्ता साथीहरू पार्टीका जनसंगठनका सबै साथीहरू तपाईंहरूको घरघरमा आउनुहुने छ । आज हामीलाई गोरखा पुग्नुपर्नेछ । बीचमा एक दुईवटा साना कार्यक्रम पनि गर्दै जानुपर्ने छ । त्यसैले मैले अब धेरै भनिरहनुपर्ने छैन । तसर्थ म यहाँहरू सबैमा सुस्वास्थ्य, सुख समृद्धि सफलताका निम्ति धेरै धेरै शुभकामना भन्दै आफ्नो भनाइ टुङ्ग्याउँछु । यस कार्यक्रमको आयोजनका निम्ति धन्यवाद भन्न चाहन्छु । धन्यवाद !
(नेकपा –एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत लमजुङको सुन्दर बजारमा २०८० मङ्सिर २२ गते आयोजित बृहत जनसभामा गर्नुभएको सम्बोधनको पूर्णपाठ)
प्रकाशित मिति : ७ पुस २०८०, शनिबार ७ : ३२ बजे
प्रतिक्रिया