‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्छ : महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । आज (बिहीबार) मधेश प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले छिट्टै कांग्रेस नेतृत्वको सरकार बन्ने बताउनुभएको हो  । उहाँले अब कांग्रेसले संघदेखि वडासम्म नेतृत्व गरेर सुशासन, समृद्धि र जनताको पक्षमा काम गर्ने बताउनुभयो ।

‘केही महिनामै कांग्रेसको प्रधानमन्त्री पनि बन्छ। सिंगो देशको जिम्मा हामीले लिन्छौं,’– उहाँले भन्नुभयाे।

एमालेले जबसम्म केपी ओली प्रधानमन्त्री बन्दैनन् तबसम्म यो देश बन्दैन भनेर गलत प्रचार गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयाे । उनले कांग्रेस नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गर्ने दाबी गर्दै मिसन ०८४ आवश्यक नरहेको बताउनुभयाे ।

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएको आगामी पुस १० गते एक वर्ष पूरा हुँदैछ । गठबन्धन दलका नेताहरुका अनुसार प्रचण्ड पहिलो दुई वर्ष, त्यसपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल एक वर्ष र बाँकी दुई वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सो सहमतिअनुसार कांग्रेस नेतृत्वको सरकार बन्न अझै दुई वर्ष कुर्नुपर्ने हुन्छ । तर, गगनले मधेश पुगेर केही महिनामै कांग्रेसले सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएकाे हाे ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ५ : ४८ बजे