रुकुम पश्चिमको आठबीसकोटमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौँ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्याक्टर दुर्घटना  हुँदा पाँच जनाको मृत्यु भएको छ । 

गए राति साढे १० बजेको समयमा आठबीसकोट नगरपालिका–१० को इजाखोला नजिक रा१द–४६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको हो । 

राडी बजारबाट घर्ती गाउँ जाँदै गरेको रा१द–४६ नम्बरको ट्याक्टर आठबिसकोट –१० मा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–१०, नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी ४२ वर्षिया श्रीमती चुट्की शाही, सोही ठाउँका भैडाँडा बस्ने ५२ वर्षीय हरदर साकी, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षिया निर्मला सार्की रहेका छन् । 

प्रहरीका अनुसार कोट इर्जाखोला नजिकै भएको दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबीसकोट – १० का ३८ वर्षीय रमेश सार्की, आठबीसकोट – ८ का १४ वर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् । अहिले घाइतेको स्थानीय आठबिसकोट अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटना लगत्तै घटनास्थलमा उद्धारका लागि एम्बुलेन्ससहित प्रहरी र नगर प्रहरी खटिएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)वीरबहादुर ओलीले जानकारी दिनुभयो ।  

ट्याक्टर घुम्ती सडकमा मोड्न खोज्दा दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।  

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ७ : १६ बजे