साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौँ उपत्यकामा तीन हजार बढी सिसी क्यामरा जडान

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले काठमाडौँ उपत्यका भित्रको अपराध नियन्त्रणका लागि सिसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

टोखा नगरपालिका–९ नयाँ बसपार्क क्षेत्रमा बन्न लागेको सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोङ्गबुको भवनको शिलान्यास गर्दै उहाँले समाजभित्र देखिने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरीले विभिन्न स्थानीय तहको सहकार्यमा सिसी क्यामरा जडानको कामलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

“काठमाडौँ र ललितपुर महानगरपालिका एवं बुढानीलकण्ठ नगरपालिकासँग मिलेर सिसी क्यामरा जडानको कामलाई उच्च प्राथमिकता दिएका छौँ, टोखा नगरपालिकासँग पनि सहकार्य गरेर बसपार्क क्षेत्रको अपराध न्यूनीकरण गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

एआइजी थापाले हालसम्म काठमाडौँ उपत्यकाभित्र तीन हजार चार सय ८५ सिसी क्यामरा जडान भएको बताउनुभयो । उहाँले काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा थप पाँच सय सिसी क्यामरा जडान गरी तीन हजार नौ सय ५६ सिसी क्यामरा जडानको कामलाई अगाडि बढाइएको उल्लेख गर्नुभयो । उहाँले नयाँ बसपार्क क्षेत्र वरपर हुने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरी सधैँ तत्पर रहेको बताउनुभयो । 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोङ्गबुको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि नगरपालिकाले निर्णय गरिसकेको बताउनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले प्रहरीको उपस्थिति जहाँ हुन्छ त्यहाँको अपराध न्यूनीकरण हुने भएकाले टोखामा प्रहरीको उपस्थिति गराउनका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको बताउनुभयो ।

नौ आना जग्गामा रु चार करोड ५० लाखको लगानीमा बन्न लागेको उक्त भवन साढे चार तल्लाको हुने सामुदायिक सेवा केन्द्र गोङ्गबुका अध्यक्ष केदारनाथ पाठकले जानकारी दिनुभयो । उक्त भवन सामुदायिक सेवा केन्द्रबाट गठन भएको निर्माण समितिले एक वर्ष लगाएर निर्माण गर्नेछ । 

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ७ : ०३ बजे