श्रीलङ्काका विदेश मन्त्री आज नेपाल आउँदै

काठमाडौँ । श्रीलङ्काका विदेश मन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चार दिने भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ ।

नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन उहाँ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल–श्रीलङ्का संयुक्त आयोगको बैठक पुस ५ र ६ गते काठमाडौँमा बस्दै छ । बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले गर्नुहुने छ ।

बैठकमा नेपाल–श्रीलङ्का सम्बन्धका सबै आयामहरूमा छलफल र समीक्षा गरिने बताइएको छ । नेपाल भ्रमणका क्रममा श्रीलङ्काका विदेश मन्त्रीले परराष्ट्र मन्त्री साउदसँग छुट्टै भेटवार्ता गर्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, विदेश मन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ । उहाँ पुस ७ गते स्वदेश फर्कनु हुनेछ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ९ : ०४ बजे