यस्तो छ आजको विनिमय दर

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि माछा पालन 

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन् । 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैँ जसो वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि कतिपयले विकल्पमा माछा पोखरी निर्माण गर्न थालेका छन् । 

माछा पालन गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको कावासोती–७ का  किसान देवराज सुब्बाले बताउनुभयो । वनको सीमासँग जोडिएका यहाँका बासिन्दाको प्रायः घरैपिच्छे माछा पोखरी रहेको उहाँले बताउनुभयो । “यहाँ करिब ७० घरपरिवार सबैजसोको पोखरी छ, वनसँग जोडिएको ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प माछा पोखरी बनेको छ”, उहाँले भन्नुभयो । माछा पालनबाट आम्दानीसमेत राम्रो हुँदा आएको उहाँले बताउनुभयो । 

पहिले धान खेती लगाउँदै आउनुभएका यमबहादुर नेपालीले पनि पछि माछा पोखरी खन्नुभएको छ । दिनहुँ जसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि यस माछा पोखरी निर्माण गर्ने क्रम बढेको उहाँले बताउनुभयो । जिल्लाको देवचुली, कावसोती, मध्यविन्दु नगरपालिकाको मध्यवर्ती आसपासका क्षेत्रमा दिनप्रतिदिन माछा पालन गर्ने किसानको सङ्ख्या वृद्धि हुँदै गएको छ । वनको सीमा क्षेत्रमा रहेका जग्गामा माछा पोखरी निर्माणका लागि यहाँका सामुदायिक वनले समेत सहयोग गर्दै आएका छन् ।

माछा पालन गर्न चाहनेका लागि नमुना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले सहयोग गर्ने गरेको वनका अध्यक्ष खिलबहादुर गुरुङले बताउनुभयो । नमुना मध्यवर्ती सामुदायिक वन  र कृष्णसार मध्यवर्ती सामुदायिक वनअन्तर्गत पर्ने यस क्षेत्रमा मात्रै एक सय ४०  माछा पोखरी रहेका छन् । माछा पालनले वन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापनमा समेत सहयोग पुगेको अध्यक्ष गुरुङले बताउनुभयो । अन्य बाली लगाउँदा वन्यजन्तुले क्षति पुर्‍याउने हुँदा वन नजिकमा माछा पालन व्यवसाय फस्टाउँदै गएको उहाँले बताउनुभयो । यसले वन्यजन्तुले बाली मास्ने समस्या पनि हटेको र माछा पालन व्यवसायबाट मनग्य आम्दानी हुने गरेको उहाँले बताउनुभयो । 

कावासोती नगरपालिकाले माछा पालनमा मध्यवर्ती क्षेत्रका बासिन्दा आकर्षित भएसँगै वडाहरूलाई पकेट क्षेत्रका रूपमा घोषणा गरी अनुदान उपलब्ध गराउँदै आएको छ । कावासोती नगरपालिकाभित्रका वडा नं ७ र १३ लाई माछा पकेट क्षेत्रका रूपमा विकास गर्दै अनुदान उपलब्ध गराउने गरेको कावासोती नगरपालिका कृषि विकास शाखाका प्रमुख शिवनारायण कुमालले बताउनुभयो । “मध्यवर्ती आसपासमा माछा पालन गर्ने क्षेत्र बढ्दै जाँदा नगरपालिकाबाट आवश्यक अनुदान उपलब्ध गराउन थालेका छौँ, किसानले पनि राम्रो आम्दानी लिने गरेका छन्”, उहाँले भन्नुभयो । रासस

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ७ : ११ बजे