यस्तो छ आजको विनिमय दर

कहाँ हरायाे ३८ खर्ब ?

काठमाडौँ । आर्थिक वर्ष ०७७/७८ मा नेपालबाट बिदेसिने नेपालीको सङ्ख्या १ लाख ६६ हजार ६ सय ९८ थियो । जसमा कुल ९ खर्ब ६१ अर्ब ५ करोड रेमिट्यान्स नेपाल भित्रियो । 

०७८/७९ मा बिदेसिने नेपालीको सङ्ख्या १ लाखबाट बढेर ६ लाख ३० हजार ९० पुग्यो । तर,रेमिट्यान्स वृद्धिदर भने घटेर आयो । 

१ लाख श्रमिक बिदेसिँदा ९ अर्ब रुपैयाँ भित्रिएको नेपालमा ४ लाख ६३ हजार ३ सय ९२ श्रमिक बढ्दा रेमिट्यान्स वृद्धिदर घटेर ४.८ प्रतिशतमा आएको छ । 

वैदेशिक रोजगार विभाग र नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ०७७/७८ भन्दा गत साल १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ मात्रै रेमिट्यान्स भित्रिएको छ ।

यसमा गत साल ४ लाख श्रमिक बढ्दा जम्मा ४५ अर्ब ८१ करोड रेमिट्यान्स मात्रै बढ्छ । यस वर्ष बिदेसिनेको सङ्ख्या फेरी बढेर ७ लाख ७१ हजार ३ सय २७ पुगेको छ । पोहोरको अनुपातमा यस वर्ष २५ प्रतिशतले वृद्धि भएको छ । यसरी हेर्दा ४४ खर्ब ४८ अर्ब वार्षिक रुपमा भित्रनुपर्ने हो । तर,नेपालमा १० खर्ब ७ अर्ब ३१ करोड मात्रै नेपाल भित्रिएको छ । 

​​​​​​​

नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टले आइतबार गरेको पत्रकार सम्मेलनमा नेपाल सरकारको अर्थमन्त्रालय र मन्त्रिपरिषद्को मिलेमतोमा ३८ खर्ब तलमाथि गरेको आरोप लगाएको छ । 

नेपालीहरूको कमाइको रकम दुई वर्षदेखि हराइरहेको भन्दै जिफन्टले आपत्ति जनाएको छ । जिफन्टका महासचिव लक्ष्मण शर्माले ५० खर्ब भन्दामाथि रेमिट्यान्स नेपाल भित्रनुपर्ने बताउनुभयो । उहाँले अहिले केवल १२ खर्ब मात्रै रेमिट्यान्स भित्रिएको भन्दै यसबारे अध्ययन गर्नुपर्ने बताउनुभयो । 

उहाँले बिदेसिने श्रमिकको सङ्ख्या बढे पनि रेमिट्यान्स बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, 'श्रमिकहरू विदेसिनेक्रम बढेको छ । सिप भएका श्रमिकहरू बिदेसिएका छन् । जुन प्रतिशतमा विदेशमा श्रमिकको सङ्ख्या बढ्दो छ, तर रेमिट्यान्स बढिरहेको छैन, कतै न कतै यहाँ मिसमास भइरहेको छ भन्ने हामीलाई लागेको छ, यसलाई यस वर्ष हाइलाइट गरिरहेका छौँ ।' उहाँले वैदेशिक रोजगारमा गएर श्रमिकहरूले कमाएको नेपालमा आउनुपर्ने रकम किन आएन भनेर प्रश्न गर्नुभयो ।  

जिफन्टका उपाध्यक्ष रमेश बडालले सामान्य हिसाबले हेर्दा पनि श्रमिक बढ्दा रेमिट्यान्स स्वतः बढ्ने बताउनुभयो । १ सय रुपैयाँबाट १ सय ३० रुपैयाँसम्म डलरको भाउ बढ्दा यता रेमिट्यान्स घट्नु चलखेलको विषय रहेको बताउनुभयो । 

उहाँले ३८ खर्ब रुपैयाँ सबै नेपाली मिलेर खोज्नुपर्ने बताउनुभयो । नेपाली श्रमिकले दुख गरेर पठाएको रेमिट्यान्स सरकारले गलत ठाउँमा प्रयोग गरिरहेको भन्दै यसको भण्डाफोर गर्नुपर्ने बताउनुभयो । 

जिफन्टका विदेश विभाग प्रमुखसमेत रहनुभएका बडालले नेपालीहरू भाडाका सिपाहीका रुपमा प्रयोग भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले रुस र युक्रेनको युद्धमा नेपालीहरू भाडाका सिपाहीका रुपमा रहनु लाजको विषय भएको बताउनुभयो । 

 

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ५ : ३३ बजे