जनकपुरधाममा आज राम र सीताबीच विवाह हुँदै

काठमाडौँ । सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत आज दिउँसो स्वयंम्बर तथा साँझ शुभ विवाहको कार्यक्रम रहेको छ ।

मङ्सिर २६ गते नगर दर्शनसँगै श्रीसीताराम विवाह पञ्चमी महोत्सव सुरु भएको थियो ।

मिथिलाको सांस्कृतिक पर्व विवाह पञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । 

शनिवार मटिहानी पुगेका भारतीय साधु सन्त एक रात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । 

रामजानकी विवाह महोत्सवमा अयोध्याबाट जन्ती भई साधु सन्त जनकपुर आउने पुरानो परम्परा हो ।

जनकपुरधाममा सम्पन्न गरिने महोत्सवको साप्ताहिक तालिकामा जनकपुर नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर र स्वयंवर तथा विवाह र रामकलेवा विधि छन् । 

महोत्सवको मुख्य दिन आज मङ्सिर शुक्ल पञ्चमीका दिन मध्याह्नपछि जनकपुरधामको विशाल रङ्गभूमि मैदानमा स्वयंवर समारोह आयोजन हुँदैछ ।

अयोध्याका राजा दशरथका छोरा भगवान् श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको स्मरणमा मिथिलावासीले यसलाई हरेक वर्ष विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ८ : ५० बजे