एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा आज पूर्वी सीमा- चिवाभञ्ज्याङमा पुगेर टुङ्गिँदै

पाँचथर । नेकपा एमालेले मध्य पहाडका समस्याको पहिचान र समाधानका उपाय पहिल्याउन बैतडीको झुलाघाटबाट सुरु गरेको मध्य पहाडी लोकमार्ग केन्द्रित समृद्धि सङ्कल्प यात्राको आज अन्तिम दिन मध्य पहाडी लोकमार्गको पूर्वी सीमा- चिवाभञ्ज्याङमा पुगेर टुङ्गिँदै छ ।

शनिवार पाँचथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट प्रस्थान गर्ने र साँझ फिदिममा नै बास बस्ने कार्यक्रम रहेको पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनु हुनेछ । ३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुन फर्किएर साँझसम्ममा टोली फिदिम आइपुग्ने प्रमुख गौतमले जानकारी दिनुभयो ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार, गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने , विकास निर्माण र हाल भइरहेका समस्याहरूको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले यात्रा आयोजना गरिएको जनाएको छ ।

अध्यक्ष ओलीसहित पदाधिकारी तथा नेताहरू रहनुभएको यात्रा टोली भोली बिहान काठमाडौँका लागि प्रस्थान गर्नेछ । काठमाडौँ फर्कँदा अधिकांश नेताहरू भद्रपुर विमानस्थल भएर काठमाडौँ फर्कने तयारीमा हुनुहुन्छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ७ : २८ बजे