आन्तरिक हवाई उडानमा अत्यधिक चाप

लाचार सरकार : आशैआशमा मरिरहेछन् भूकम्प पीडित,त्रिपालमुनि अकालमै बिते ३४ जना

काठमाडौं । सरकारको निकम्बा पनको कारण डेढ महिनामा  भूकम्पमा बालबाल बाचेका ३४ जना नागरिकहरुले अनाहकमा मृत्युवरण गर्नु परेको छ । भूकम्पका कारण घर मत्किएर पालमा बसेका उनीहरु सबैको ज्यान चिसो र र झाडापखालाकाको कारण गएको हो । 
जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ मध्यरातमा गएको भूकम्पपछि खुला आकाशमुनि रात बिताउन बाध्य पीडितहरूमध्ये जाजरकोटका २९ र रुकुम पश्चिमका ५ जनाको ज्यान गएको हो । जसमा १ महिने शिशुदेखि ८९ वर्षीया वृद्धासमेत छिन् । 

रामीडाँडामा भूकम्पमा परी ९० प्रतिशत घरमा क्षति पुगे पनि एक जनाको पनि ज्यान गएको थिएन । यहाँ भूकम्पमा परी चार जना घाइते भएका थिए । भूकम्प पछिको डेढ महिनामा भने यही गाउँमा १४ जनाले चिसोकै कारण अकाल मृत्युवरण गर्नुपरेको छ ।   

भूकपमा घरबार विहिन बनेका नागरिकको पहिचान गरी अस्थायी टहरा बनाउन रकम वितरण गर्ने भनिए पनि अझै पनि सरकार अझै लाभग्राहीको संख्या यकिन गर्न समय कटाइरहेको छ ।  राहत र अनुदानको आशमा बसेका जनता चिसोले अकाल मृत्यु भइरहे पनि सरकारी उदासिनता अर्झै पनि उस्तै छ । भूकम्प पीडितहरुको दैनिकी चिसो बढेसँगै दिनप्रतिदिन  निकै कष्टकर बनिरहेको छ ।  

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मात्रै झन्डै ५५ हजार परिवार घरबारविहीन भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार जाजरकोटमा झन्डै ३१ हजार र रुकुम पश्चिममा २४ हजार परिवार विस्थापित भएका छन् । तर, अहिलेसम्म जाजरकोटमा ३ हजार ३ सय ९ र रुकुम पश्चिममा १९ हजार ९ सय ३४ परिवारले मात्र अस्थायी टहरा निर्माणका लागि पहिलो किस्ताबापत २५ हजार रुपैयाँ बुझेका छन् । विभिन्न राजनीतिक दलले दुवै जिल्लामा गरी झन्डै ५ हजार टहरा निर्माण गरे पनि अझै आधाभन्दा बढी भूकम्पपीडित त्रिपालकै भरमा छन् । राजनीतिक दलहरूले निर्माण गरेको अस्थायी आवासको तथ्यांक जिल्ला विपद् व्यवस्थापन समितिसँग छैन । 

 

अस्थायी आवास निर्माणका लागि संघीय सरकारले रुकुम पश्चिम र जाजरकोटमा ५०–५० करोड रुपैयाँ पठाएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले उक्त रकम स्थानीय तहमार्फत लाभग्राहीलाई वितरण गरिरहेको बताए पनि त्योकाम अत्यन्तै सुस्त गतिमा बढिरहेको छ  ।  सरकारले पहिलो किस्ताबापत दिने २५ हजार रुपैयाँ लाभग्राहीसम्म पुग्न ढिला भएका कारण टहरा बनाउने काम पनि सुस्त नै छ ।   जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले उपलब्ध गराएको तथ्यांकअनुसार बिहीबारसम्म जिल्लाभर १९ हजार ९ सय ३४ जना लाभग्राही कायम भएका छन् । उनीहरूका लागि जिल्ला विपद् व्यवस्थापन कोषबाट ४९ करोड ३ लाख ५० हजार रकम स्थानीय तहको कोषमा पठाइएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले यसमध्ये १९ करोड ७ लाख रुपैयाँ मात्रै लाभग्राहीसम्म पुगेको बताए । आठबिसकोट नगर प्रमुख रवि केसीले ढिलो गरी लाभग्राही छनोट भएको र हाल उनीहरूको खातामा रकम पठाउने काम भइरहेको बताए ।
जाजरकोटमा पनि रकम स्थानीय तहमा गइसके पनि लाभग्राहीसम्म पुग्न सकेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माका अनुसार जाजरकोटमा २७ हजार ६ सय ६७ जना लाभग्राही कायम भएका छन् । ५० करोड ९८ लाख ७५ हजार रकम स्थानीय विपद् व्यवस्थापन कोषमा पठाएको बताउँदै सहायक प्रजिअ शर्माले अहिलेसम्म ४० लाख रुपैयाँ मात्रै लाभग्राहीसम्म पुगेको जानकारी स्थानीय तहहरूबाट प्राप्त भएको सुनाए ।

रुकुम पश्चिममा अहिलेसम्म १८ सय १६ अस्थायी टहरा निर्माण भएको जिल्ला प्रशासनको तथ्यांक छ । यससँगै ४८ सय ९८ टहरा निर्माणाधीन छन् भने विभिन्न राजनीतिक दल, संघसंस्थाबाट श्रमदानमार्फत ७ सय ९१ टहरा बनेको पनि प्रशासन कार्यालयले बताएको छ । 
भूकम्प प्रभावित दुवै जिल्लामा पहिचान हुने क्रम जारी रहेकाले लाभग्राहीको संख्या बढ्दो क्रममा छ । तर, उनीहरूका लागि भनेर आएको रकम भने अपुग भएको दुवै जिल्लाका प्रशासन कार्यालयले बताएका छन् । जाजरकोटका सहायक प्रजिअ शर्माले अहिलेसम्म आएको सबै रकम स्थानीय तहबाट माग भएबमोजिम पठाइएको र अब थप रकम नभएकाले माग गरिएको बताएका छन् । थप ५० करोड रकम पहिलो किस्ताका लागि माग गरेको उनको भनाइ छ । त्यस्तै रुकुम पश्चिमका निमित्त प्रजिअ बडुवालले पनि लाभग्राहीको संख्या बढ्दो क्रममा रहेको र थप रकम माग गरिएको बताए ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १ : ५३ बजे