साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कोदो र फापर फलाउने किसानलाई अनुदान

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरू उत्साहित भएका छन् । 

गाउँपालिकाले वडा नम्बर– ३ मा  कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । पालिका अध्यक्ष हिदम लामाले शुक्रवार नगद अनुदान  वितरण  गर्दै सहर बजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गर्नुभयो । 

भीमफेदीको एक हजार ६० रोपनी जग्गामा दुई सय ६६ किसानले कोदो रोपेका र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा रु २० लाख कोदो उत्पादन बढाउन पालिकाले अनुदानको व्यवस्था गरेको अध्यक्ष लामाले बताउनुभयो । 

यो वर्ष अपेक्षाअनुसार मकै उत्पादन नभएकाले कोदोले त्यसको अभाव परिपूर्ति गर्ने उहाँले बताउनुभयो ।  अनुदान पाएका किसान बाहेक पालिकाका अन्यले पनि कोदो खेती गर्दै आएका तथा भीमफेदीमा मात्र दुई हजार रोपनीभन्दा बढी क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

गाउँपालिकाले पालिका भित्र उत्पादित रैथाने बाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य पनि  निर्धारण गरेको छ । 

गाउँपालिकाको आर्थिक विकास समितिको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ५५ र फापर प्रति केजी  रु एक सय  निर्धारण गरिएको  छ ।रासस

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : २३ बजे