साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कृष्ण पहाडीको छद्म राजनीति                      

राजनीति गर्दिन भन्नेहरू झन् राजनीति गर्छन् । यसरी राजनीति गर्नेहरूले आम जनतालाई धेरै दिन छल्छन् र  छकाउँछन्  । यसलाई बहु आयामिक कोणबाट  प्रभावशाली रूपमा निरस्त पार्न सकिएन जनमत पनि भ्रमित भइरहन्छ । सूचना र सञ्चार भनेको  समाचार मात्र होइन लेख,रचना,  समसामयिक टिप्पणी हो ।

यस्तो अवस्था रहिरह्यो भने  छक्का र छद्म राजनीति बिकी रहन्छ । ब्याडन्युज गुडन्युजको दुष्प्रभावमा कार्यकर्ता नै परेको देखिन्छ । प्रसिद्ध मानव अधिकारीवादी भनेर देश र विदेशमा  चिनिएका कृष्ण पहाडी जस्ता व्यक्तिका भ्रमपूर्ण विचारलाई तत्काल तर्क सङ्गत रूपमा खण्डन गरिएन भने त्यसले  आम जनतामा खाली दिमागमा सैतान बसेसरह  प्रभाव पार्छ ।

यस्ता गलत कुराको तर्क सङ्गत प्रतिवाद गर्न बौद्धिक प्राज्ञिक लेखकीय प्रतिभासित जीवन्त सम्पर्क तथा मैत्री अपरिहार्य हुन्छ । प्रतिक्रियावादीहरू आफ्ना लेखक,कवि तथा सर्जकलाई धानको भात खुवाउँछन् तर हामी धन्यवाद पनि भन्न सकिरहेका छैनौँ ।

आफैँ मरेर र परेर आफूले भोगेको कुरा लेखेको हो । विचाररूपी विषालु झारपात तत्काल  उखेल्नु पर्ने कुरा माओले उहिल्यै भन्नु भएको थियो ।  यसै प्रसङ्गमा कृष्ण पहाडीको छद्म राजनीतिको अत्यन्त भद्दा र स्तरहीन स्वरूप यही मङ्सिर २५ गते एक राष्ट्रिय स्तरको अखबारमा देखियो ।

एमाले र अझ ओली विरुद्धको अत्यन्त भद्दा तथा कुरूप नमुना  पहाडीको उपयुक्त पछिल्लो शृङ्खला हो । यो उनको   छद्म र छली राजनीतिको निकृष्ट नमुना हो । पहाडीले नेकपा एमालेले सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धि सङ्कल्प यात्रा र मिसन चौरासीलाई   भ्रष्टाचारका घटनालाई डाइभर्ट गर्न गरिएको  र भोट बैङ्कको फन्टा हो जस्ता अनेकथरि आरोप लगाएका छन् ।

प्रधानमन्त्री प्रचण्ड आफैँ सडक तताउने अभियान चलाइरहेका छन् ।  काँग्रेसीहरू घुमाई फिराइ  मिसन ८४ कै वरिपरि प्रदेश भेला गरिरहेका छन् तर  पहाडी भने  एमालेकै चिन्ताले असिनपसिन भएको देखिन्छ ।

कम्युनिस्ट फोबियाग्रस्त पहाडीका विचारहरू विशेषतः एमाले र अझ ओली विरुद्ध इष्र्याजन्य अभिव्यक्तिका रूपमा बारबार  प्रकट भएका हुन् ।  एमालेले मात्रै देश र जनताको उत्थान गर्छ भन्ने राम्ररी बुझेका पहाडीले  एमालेको उग्र विरोध गरेको स्पष्ट  हुन्छ  ।

देशी विदेशी प्रतिक्रियावादीहरू एमाले विरुद्ध एक स्वर र लयमा एकै पटक खनिनुका पछाडिको खाँटी सत्य  पनि यही नै हो । नत्र एमालेले यस यात्राको मूल नारामा नै समृद्धि सङ्कल्प भनेको छ । यसको मूल अर्थ यो देश सम्पदाले भरिपूर्ण छ र  बाह्य दबाब र प्रभावमा नपरी देशको समृद्धिका लागि काम  गर्दा र गर्न चाहँदा यो देश समृद्ध हुन्छ भन्नु एमालेको  कुन अपराध हो ? 

एमालेले समृद्धिको सपना पूरा गछौँ भनेर जनतालाई साक्षी राखेर भन्दा कुन अपराध भयो पहाडी जी ? तामा खानी, तेल खानी, युरेनियमको खानी जन, जल, जङ्गल, जमिन  र खनिज पदार्थको अनन्त  स्रोतको  यो देश अविकसित हुनुपर्ने कुनै कारण छैन तर अलिकति पनि राम्रो काम गर्नेलाई पहाडी जस्ताले देखि नसहने प्रवृत्तिका कारण देश पछि परेको हो ।

पण्डिताः सम दर्शिनःको चरित्र पहाडीमा पटक्क देखिएन । कतिपय चन्दनधारी,पीत वस्त्रधारी र टुपीकट्टाहरु आफूलाई  कति तलसम्म गिराउन सक्छन् भन्ने नेपालमा नै प्रत्यक्ष हुन थालिरहेको छ । वास्तवमा  गुणीजन हो भने जसकसैको गुणको कदर गर्छ । खै त हामी पृथ्वी नारायण  ?

शाह,बिपी कोइराला आदिका गुणको खुल्ला बखान गर्छौँ त । यस देशमा जजसले जे जति योगदान गरेको छ, त्यसको स्मरण गर्नु अपराध हो र ? जंगबहादरले जंगेपिलर गाडेर सीमा सुरक्षा गरेकामा हामी सम्मान नै गछौँ  त ।

पीत वस्त्रधारी र  जोगी भेषी नभए पनि सरदर मानिस भन्दा उन्नत सोच राख्छौँ । किनभने माक्र्सवादले हामीलाई जसकसैका पनि सकार स्विकार्नु पर्ने शिक्षादीक्षा दिन्छ । त्यसैले माओले विशाल चीनलाई एकीकरण गर्ने सम्राट् चिह्न ह्वाङलाई सम्मान गरेका हुन्  ।

नेपालकै राजनैतिक इतिहासमा नौ महिने नमुना सरकार पहाडीले पहिले कहिल्यै देखेका थिए ? राज्यले सामाजिक सुरक्षाको प्रबन्ध  गर्नु पर्छ भन्ने कुन र कसको सरकार हो ? के एमाले वा ओलीले दातृराष्ट्रले नेपाललाई उपहार स्वरूप प्रदान गरेका लाखौँ नेपालीलाई रोजगार दिलाउने  दर्जनौँ उद्योगधन्दाहरू  माटाका भाउमा बेचेको हो ?

०४७ सालको संविधानमा मुलुकलाई दीर्घकालीन असर पर्ने खालको सन्धी सम्झौता गर्दा  काँग्रेसीले विरोध गर्दा पनि दुई तिहाइले अनुमोदन गर्ने प्रावधान राख्ने  एमाले राष्ट्रघाती ? अनि संविधानमा उपर्युक्त खालको प्रबन्ध गरिए पनि मुलुकलाई ढाँटेर टनकपुर सन्धि गर्ने एमाले हो र ?

हो, प्रधानमन्त्रीमार्फत राष्ट्रले गरेको त्यही गल्ती सच्याउन विधिवत् तमसुक गरेर जे जति भए पनि नेपालको हक कायम गरिएको सन्धी हो, महाकाली सन्धी ? महाकाली साझा नदी भन्ने एमाले राष्ट्रघाती अनि सबै नदी भारतको भन्ने राष्ट्रवादी ?   

पूर्वराष्ट्रपति श्रीमती विद्या भण्डारीलाई तथा नाम भन्ने पहाडी अहिलेका राष्ट्रपतिले पहिलो  हिन्दीमा सगर्व भाषण गर्दा, बुद्ध भारतमा जन्मिएको भन्दा, नागरिकता प्रकरणमा जाली कृते दस्तखत गर्दा र दिनदहाडै ज्यान मारी जेल जीवन बिताइरहेका  अपराधीलाई माफी मिनाहा गर्दा र उक्त विषयमा अदालतले सरकार र राष्ट्रपतिको काम गलत भनी फैसला गर्दा किन चुपचाप पहाडी जी ? 

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष  के.पी. शर्मा ओलीले कता फर्किएर के कति समय लिएर बोल्नुभयो भनेर उपहास गर्न भ्याउने पहाडी एमाले वा ओलीका सकारात्मक पक्षहरूलाई पूरै नकारात्मक कोणबाट  पहाडीले अभिव्यक्ति दिन्छन् ।  पहाडी जी ओलीले गरेको संसद्मा विषयगत सम्बोधनलाई समेत तोडमराड गरेर बोल्दै थिए  ।

ओलीले देशको नक्सामा समावेश गरिएको लिम्पियाधुरा ,कालापानी र लिपुलेक   नेपालको हो भन्न नसक्ने ठगबन्धन सरकारका कमजोरी उल्लेख गर्नु भयो तर यो कुरा  पहाडीजीलाई रिसको पारो चढेकै थियो  ।

विगतमा पनि अन्तर्वार्ता र आलेखका क्रममा पहाडी फेरि दुई पटक संसद् विघटनको कुरा उठाए । तर दुनियाँको संसदीय अभ्यासमा संसद्लाई छलेर फलानालाई प्रधानमन्त्री बनाउने अदालती आदेश संसारमा कहाँ छ पहाडी जी ?  संसारको संसदीय अभ्यासमा कहीँ नभएको जात्रा नेपालमा मात्र हुन्छ र हुँदो रहेछ यसमा  पहाडी खुसी नै  भएका थिए । क्षय रोग लाग्दा खुसी हुनुहुँदैन । यसले कसैलाई बाँकी राख्दैन ।

महाकाली नदीमा बगाएर मारिएका जयसिंह धामीका बारेमा पहाडी  एक शब्द बोलेनन् । महाकालीपारि  पक्की तटबन्ध बनाएर नेपालतिर बाढी हुल्ने भारतीय हेपाहा प्रवृत्ति विरुद्ध उनी चुइँक्क गरेनन् । ,चुच्चे नक्सा बुच्चे पार्ने विषय लगायत अनेक राष्ट्रघात र  जनघाती कर्म गर्ने  गठबन्धन सरकारका  यावत् कृत्यहरू बारे मौन साधना गर्ने पहाडी एमाले समृद्धि  यात्रा माथि बिस वमन गरिरहेको देख्दा अचम्म लाग्छ । 

सातबटा  मात्र मन्त्रालय रहेको प्रदेश सरकारमा १४ भन्दा बढी मन्त्रालय थप्दा पहाडी बोलेनन् । लाज सरम पचाएर सरकारले आफैँ २४ लाख कोरोना खोप हराएको भन्यो  तर चोरको खोजी नगर्ने सरकारका बारेमा पहाडीले मुख खोलेनन् ।  ओली सरकार हुँदा ४ प्रतिशत  महँगी थियो भने आजका दिनसम्ममा ७ प्रतिशत भन्दा अझै महँगी उकालो लाग्दा पहाडी बोल्दैनन् ।

ओलीको सरकार भएको भए उपर्युक्त  सबै खालका भारतीय थिचोमिचो हुने नै थिएनन् र भएका भए क्षतिपूर्ति दिनु पर्ने बाध्यता हुन्थ्यो यति कुरा सामान्य जनताले बुझ्छन् । यी कुराहरू  तथ्यले नै  सत्यता प्रमाणित गर्छ ।

देशघाती र जनघाती काम गर्नका लागि  ओली सरकारलाई अपदस्थ गर्न दाहाल र नेपाल हत्ते हालेर लागेका हुन् । ओलीलाई प्रधानमन्त्रीबाट हटाउने राज रहस्य अहिले पुष्टि भएन र पहाडी जी । निष्कर्षबाट प्राप्त तथ्यहरू नहेरी फेरि रिसइवी साध्नका लागि गेरु वस्त्र धारण गरेर बोल्न सुहाउला र ?

पहाडीजीले  ०७६ असोज ५ गते  एक राष्ट्रिय दैनिक अखबारमा माफ गर्नुहोस् प्रधानमन्त्रीज्यू शीर्षकको एक  लेखमा प्रम केपी शर्मा ओलीलाई नैतिक रूपमा च्युत देखे । पहाडीका परम आदर्श व्यक्तिहरूमा प्रचण्ड,बाबुराम र शेरबहादुर देउवा पर्छन् । 

नेपालमा आश्रय लिएर बसेका भुटानीलाई अमेरिकी नागरिकता दिलाउने भाउजू र बुहारीहरू पहाडीका आदर्श पात्र होलान् । तर देश र जनताका लागि काम गर्नेहरू नैतिक रूपमा च्युत हुन्छन् पहाडीका नजरमा ।

यसरी सामान्य ठिटौले   काँग्रेसी कार्यकर्ता सरह  असंयमित लबज स्वरूपको   पहाडीको कटु कटाक्ष गरेको देखेर यस लेखकलाई लज्जा बोध भएको थियो र छ ।

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा  प्रतिगमनको खतरा रहेको भनेर सरकारका कमजोरी लुकाउन खोजेको भन्दै पहाडीले नैतिक च्युत  शब्दावली प्रयोग गरेका थिए ।  ओलीले देखेझैँ भारत अनुकूल वा  कन्फर्टेबल   वा प्रतिगामी सरकार बनेको त परिणामबाट  पहाडीजीले  देखेकै  हो नि  ।

न्यायपरायण  पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउने देउपा पहाडीका महान् नैतिक ?  भारतले गरेको नेपाल नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने पार्टी र तिनका मतियारले ओलीलाई नैतिकताको पाठ सिकाउन सुहाउँदैन ।

नेपालको संविधान जारी गर्न आयातित भीषण दबाब थेगेर  र थामेर संविधान जारी नभएको भए यो देश कुन भड्खालामा जान्थ्यो होला  पहाडी जी ?  यो लेखक कसैलाई पनि बिनबित्थामा आरोप र आक्षेप लगाएको मन पराउँदैन ।

आफू हालसम्म  एमालेकै औपचारिक पहिचानको भए पनि विकृति विसङ्गतिलाई  म मन पराउँदैन ।  कुनै नेता विशेषको गुट, लबी र समूह भन्ने पनि मेरो छैन र हुने छैन ।

त्यसैले म एमालेको हुँ भन्दा र देशको हुँ भन्ने ठान्छु ।  म कसैका पनि गल्तीलाई पहिले सुधार्न लेख्छु कत्ति गर्दा पनि सुध्रिएनन् म उधार्छु । र फेरि पनि उधार्दै स्युँदै गर्ने मेरो ध्येय हो । 

एमालेमा फेरि टोपबहादुर नजन्मियोस् भनेर लेखि रहन्छु । कमजोरी छ तर सच्याउनु पर्छ । राम्ररी मयल माड्ने हो भने सच्चिनै पर्छ । तर माथिबाट असल पानी र बानी बगेर आउँदा बिग्रने सम्भावना टरेर जान्छ । सत्य बोल्ने एक न एक विवेकी र इमान्दाहरु जहाँ पनि चाहिन्छ ।  सच्चा मित्रले कमजोरी औँल्याउँछ  चाकरले सदा चम्मर डोलाउँछ ।

त्यसैले पहाडी जी  क्षयरोगलाई आफ्नू र अर्कोको नभन्नु होला । सच्चा प्रजातान्त्रिक विचारको पक्ष पोषण गर्ने हो भने त्यस संस्थाका वा आफ्ना पनि  आङ्को भैँसी  देख्नु होस् । व्यर्थमा  एमालेको चिन्ता नगर्नु होस् ।  पहाडी जी लेख्दा बोल्दा आफ्नो इज्जत,आवरु र हैसियत राम्ररी धान्नु होला ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  २ : ४४ बजे