यस्तो छ आजको विनिमय दर

मस्को हवाई सम्पर्क स्थापित गर्न चेम्बर र रुसी महासङ्घले संयुक्त पहल गर्ने

काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपाल भ्रमणमा रहेको रुसी महासङ्घको व्यवसायीक प्रतिनिधीबीच भेटवार्ता भएको छ । 

काठमाडौँको जमलस्थित चेम्बर अफ कमर्सको भवनमा भएको भेटवार्तामा दुई मुलुकबीच संयुक्त लगानी एवं व्यापारिक साझेदारी गर्नेबारे छलफल भएको हो । 

रुसी महासङ्घको प्रतिनिधिमण्डलसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले काठमाडौँ र मस्कोबीच सीधा हवाई सम्पर्क स्थापित गर्नका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष मल्लले भन्नुभयो, ‘नेपाल रुसबीचको कूटनीतिक सम्बन्ध बलियो छ, ‘सयौँ नेपाली विद्यार्थीहरू इन्जिनियरिङ, चिकित्सा लगायतका विषय अध्ययनका लागि जाने गरेका छन्, रुसका तर्फबाट पनि वार्षिक १० हजारको हाराहारीमा नागरिकहरू नेपाल घुम्न आउने गरेको सन्दर्भमा सीधा हवाई सम्पर्क सञ्जाल बढाउन सकियो भने दुवै मुलुकलाई फाइदा पुग्छ, ।’

नेपालमा काठमाडौँसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनका क्रममा रहेकाले दुई मुलुकबीच सीधा हवाई सम्पर्क सञ्जाल विस्तार गरेर आर्थिक सहकार्य  र व्यापारिक साझेदारी गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो ।

नेपालको कृषि, पर्यटन, उद्योग, एवं आइटी क्षेत्रमा लगानीको उच्च सम्भावना रहेको अध्यक्ष मल्लले बताउनुभयो । रुसी लगानीको प्रतिफल सुनिश्चित गर्नका लागि नेपाल चेम्बर अफ कमर्सले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ । 

चेम्बर पदाधिकारीहरूसँगको भेटमा रुसी महासङ्घको व्यावसायिक प्रतिनिधिमण्डलले पनि नेपालमा सीधा हवाई सम्पर्क सञ्जाल विस्तारका लागि आफूहरूले पहल गर्ने बताएका थिए । हवाई सम्पर्क स्थापित गर्नका लागि दुवै देशका सरकारसमक्ष संयुक्त पहल गर्नुपर्ने रुसी महासङ्घका प्रमुख एलेक्जेण्डर एल रेवासले बताउनुभयो । दुई मुलुकबीच अन्य व्यापारिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने उहाँको भनाई छ । 

चेम्बर पदाधिकारीसँगको भेटवार्तामा रुसी महासङ्घको टोलीले नेपालमा उत्पादन हुने चिया र यसको विश्व बजार बारे चासो राखेका थिए । 

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ११ : ०९ बजे