सङ्कल्प यात्राका क्रममा ६ /७ लाख जनतासँग प्रत्यक्ष संवाद भएको छ : उपमहासचिव ज्ञवाली 

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मध्य पहाडी यात्राले एमाले जनतासँग नजिक भएको बताउनुभएको छ । 

उहाँले मध्य पहाडी सङ्कल्प यात्राका क्रममा ६/ ७ लाख जनतासँग प्रत्यक्ष संवाद भएको बताउनभयो । उहाँका अनुसार मध्य पहाडी यात्राका क्रममा एमालेले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब २५ लाख जनतासँग संवाद गरेको छ । 

उपमहासचिव ज्ञवालीले एमालेको लोकप्रियता खस्केको भन्ने भाष्य निर्माण गरिए पनि यात्राले त्यसलाई कमजोर गरेको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो,' 'जनता एमालेको पक्षमा छन् । उहाँहरूले हामीलाई थुप्रै सुझाव दिनुभएको छ । हाम्रा कार्यशैलीका बारेमा पनि सुझाव आएका छन् । जनता आफ्ना नेता, नेतृत्व नजिक भएको देख्न चाहने रहेछन् ।''

उपमहासचिव ज्ञवालीले पहाडमा विकासको प्रचुर सम्भावना रहेकाले अब एमाले विकास केन्द्रित हुने बताउनुभयो । उहाँले पूर्वी नेपालमा आफ्नो अधिकारको नाममा मिलेर बसेको समाजमा तिक्तता बढाउने काम भइरहेको बताउनुभयो । उहाँले त्यस्तो नगर्न पहिचानवादीहरूलाई आग्रह पनि गर्नुभयो । 

उपमहासचिव ज्ञवालीले एमालेले मध्य पहाडी यात्रा ६ उद्देश्य लिएर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहाड विकासको प्राप्त सम्भावना भएको क्षेत्र हुँदाहुँदै पनि तीव्र बसाइसराइ, पूर्वाधारहरू गाउँ पस्ने तर मान्छेहरू सहर झर्ने । पछिल्लो समय बिदेसिने शृङ्खला छ यसका कारण के हुन र यसलाई कसरी रोकिन सक्छ र जनताका अनुभूति सुन्ने एमालेले मध्य पहाडी यात्रा सुरु गर्‍यो ।''

उपमहासचिव ज्ञवालीले जनतामा निराशा फैलाउने र देश बरबाद भयो भनेर निर्माण गरिएको भाष्यलाई चिर्न पनि एमालेले सङ्कल्प यात्रा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ''कम्युनिस्ट पार्टीको ७५ औँ वर्षमा छौँ हामी । यो ७५ वर्षको बिचमा कम्युनिस्ट पार्टीले के गर्‍यो । अबको २५ वर्षमा कम्युनिस्ट पाटी १०० वर्ष पुग्दा देशको तस्बिर कस्तो हुन्छ भन्ने हाम्रो परिकल्पना छ । यो कुरा सम्प्रेषित गर्ने कुरा थियो ।''

उपमहासचिव ज्ञवालीले तेह्रथुमको वसन्तपुरसम्म आइपुग्दा एमालेले २९ वटा ठुला सभा र सयभन्दा बढी स–साना भेला गरेको जानकारी दिनुभयो ।  

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ९ : ५५ बजे