सङ्कल्प यात्राले मध्यपहाडको पहिचान र प्रचारका लागि सहयोग पुगेको छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मध्यपहाडमा पार्टीले जनताको अपार समर्थन र माया पाएको बताउनुभएको छ । 

आज बिहान भोजपुरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले मध्यपहाडमा एमालेलाई जनताको अपार समर्थन प्राप्त भएको बताउनुभएको हो । 

उहाँले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्मको सङ्कल्प यात्राका क्रममा मध्यपहाडको समस्या, सम्भावना र अवसरहरूलाई नजिकबाट नियाल्ने काम भएको बताउनुभयो । उहाँले एमालेको सङ्कल्प यात्राले जनतामा फैलिएको निराशालाई आशामा बदल्न सहयोग पुगेको उल्लेख गर्नुभयो । उहाँले मध्य पहाडमा आर्थिक विकास र समृद्धिको ठुलो सम्भावना कायम रहेको बताउनुभयो । 

‘मध्यपहाडमा पूर्वाधारको विकास र बसाईसराईंको प्रवृत्ति जसरी बढ्दो छ । यसलाई कसरी रोक्न सकिन्छ भनेर बुझ्न चाहेका थियौँ,’ पोखरेलले भन्नुभयो, ‘यति यात्रा गरिसकेपछि हामी मध्य पहाडी लोक मार्ग भविष्यमा नेपालको समृद्धिको आधार बन्न सक्छ भन्ने निष्कर्षमा पुगेका छौँ । मध्यपहाडमा अझै पनि सम्भावना टरिसकेको छैन ।’ उहाँले मध्यपहाडको जीवनस्तर उकास्न फलफूल खेतीलाई आधार बनाउन सकिने बताउनुभयो ।  

महासचिव पोखरेलले यात्राका क्रममा जनताले स्थानीय परिकार, पहिचान र संस्कृतिले स्वागत गरेको भन्दै त्यसको पहिचान र प्रचारका लागि समेत सहयोग पुगेको बताउनुभयो । 

मङ्सिर १३ गते झुलाघाटबाट सुरु भएको एमालेको सङ्कल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिँदै छ । 

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ९ : ४५ बजे