सुनको मूल्यमा नयाँ कीर्तिमान

निलम्बित सांसद कोइरीविरूद्वको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ । प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो कोइरीविरूद्वको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । 

एमाले सांसद कोइरीमाथि सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या गरेको आरोप लागेको छ ।

मङ्गलवार जिल्ला अदालत महोत्तरीमा न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा भएको सुनुवाइ नसकिएपछि  ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। मुद्दाको निरन्तर सुनुवाइ आज जारी रहनेछ । 

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर हत्या गरिएको थियो ।

हत्यामा तत्कालीन मधेसवादी दलका नेता (हाल एमालेका निलम्बित सांसद)लक्ष्मी महतो कोइरीको पनि संलग्नता रहेको भन्दै मुद्दा दायर भएको थियो । त्यति बेला कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो । जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ गते महतोलाई एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो । असई विकका आफन्त प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए । उच्च अदालत, जनकपुरले २०७७ मङ्सिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि त्यसयता कोइरी फरार छन् ।

प्रहरीको फरार सूचीमा रहेका कोइरी २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित भएका थिए । उनले वारेसमार्फत प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए भने चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत नै बुझेका थिए ।

निर्वाचनपछि महोत्तरीका सार्वजनिक कार्यक्रममा नदेखिएका कोइरी संसद् भवन नयाँ बानेश्वरमा शपथ ग्रहण कार्यक्रममा सहभागी भएका थिए। त्यसपछि संसद्का केही बैठकमा उपस्थित भए पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि फेरि फरार भएका हुन् । 

महोत्तरी जिल्ला अदालतमा कोइरीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा थमन विककी पत्नी शोभा गहतराज न्यायको माग गर्दै काठमाडौँ आएकी छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : १० बजे