एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा आज खोटाङबाट भोजपुर प्रस्थान गर्दै

काठमाडौँ । नेकपा एमालेको जारी मध्य पहाडी राजमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा आज खोटाङको दिक्तेलबाट भोजपुरका लागि प्रस्थान गर्दैछ ।

पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार मध्य पहाडी यात्राको १४औँ दिनको आजको यात्रा ८४ किलोमिटरको हुनेछ । जसमा चखेवा अन्नपूर्ण लगायतका ठाउँहरूमा जनतासँग भेटघाट तथा अन्तरक्रिया गर्ने, बिहानको खाना भोजपुरमा खाने र साँझ बास पनि भोजपुरमै बस्ने तयारी छ ।

यात्राको क्रममा मङ्गलवार मन्थलीबाट टोली घुर्मी हुँदै साँझ बास बस्नका लागि दिक्तेल पुगेको थियो । १९ दिने यात्राको सबैभन्दा छोटो दुरी मङ्गलवारको यात्रा ६६ किलोमिटर मात्र रहेको थियो । सबैभन्दा लामो दुरी यात्राको छैटौँ दिन सुर्खेतबाट रुकुमकोट पुग्दाको थियो । सो दिन १९२ किलोमिटर दुरी यात्रा टोलीले पार गरेको थियो ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार, गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने , विकास निर्माण र हाल भइरहेका समस्याहरूको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले यात्रा आयोजना गरिएको एमालेले जनाएको छ । 

अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको यात्रामा पार्टीका नेताहरू सहभागी हुनुहुन्छ। यही मङ्सिर १४ गते बैतडीबाट सुरु भएको यात्रा पुस १ गते पाँचथरमा पुगेर सकिँदै छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : १८ बजे