आन्तरिक हवाई उडानमा अत्यधिक चाप

​​​​​​​ग्रामीण क्षेत्रमा बालविवाह, घरेलु हिंसा र बहुविवाहको समस्या विकराल 

विराटनगर । भोजपुर, पाँचथर, इलाम, धनकुटा, ओखलढुङ्गा, उदयपुर र सुनसरीका ग्रामीण क्षेत्रमा ग्रामीण क्षेत्रमा बाल विवाह, घरेलु हिंसा, बहु विवाहको समस्या विकराल रहेको पाइएको छ । 

बहु विवाह गर्नेले विवाह दर्ता नगरिदिने, नागरिकता नबनाई दिने, मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने समस्या बढी देखिएको छ । 

बालविवाह गर्नु हुन्न भन्ने कुरा अभिभावकलाई जानकारी भए पनि स्कुल पढ्दापढ्दै गरेका बालबालिकाले आफू खुसी विवाह गर्ने गरेका छन् । उमेर नपुगी विवाह गरेका बालबालिकामा उमेरको परिपक्वता आएसँगै असमझदारी बढ्ने, बालविवाह गरेका दम्पतीको सन्तानको जन्म दर्ता नहुने जस्ता समस्या पाइएको छ । 

मदिरा सेवन घरेलु हिंसाको प्रमुख स्रोतका रूपमा भेटिएको छ । अधिकांश नागरिकलाई अझै पनि स्थानीय तहले न्याय निरूपण गर्छ भन्ने कुरा पनि थाहा नभएको पाइएको छ । स्थानीय सरकारले पहिलो कार्यकाल पुरा गरेर अर्को कार्यकालको पनि डेढ वर्ष पुरा भइसक्दा पनि स्थानीय तहहरूले न्यायिक समितिको कामका विषयमा नागरिकहरूलाई जानकारी नगराएको पाइएको छ । न्यायिक समिति स्थानीय तहमा गठन भएको छ र उसले सरल एवम् सहज  रूपमा न्याय निरूपण गर्छ भन्ने कुरा नागरिकलाई थाहा नभएको पाइएको छ । 

न्यायमा पहुँच कार्यक्रम अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत कानुनमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले यी सात जिल्लाका १८ वटा स्थानीय तहमा सञ्चालन गरेको क्लिनिकल लिगल एजुकेसन कार्यक्रमबाट यो तथ्य सार्वजनिक भएको हो । 

पूर्वाञ्चल विश्वविद्यालयका ३५ जना विद्यार्थीले १८ वटा स्थानीय तहमा गएर क्लिनिकल लिगल एजुकेसन सञ्चालन गरेका थिए । कानुनको अज्ञानताका कारण नागरिकहरू समस्यामा परेको भेटिएको छ । क्याम्पसमा पढेको भन्दा बढी व्यवहारिक ज्ञान प्राप्त गरेको विद्यार्थीहरूले बताएका छन् । 

विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथसाथै व्यवहारिक ज्ञान दिने उद्देश्यले कानुनमा पहुँच परियोजनाको सहकार्यमा क्लिनिकल लिगल एजुकेसन कार्यक्रम सञ्चालन गरिएको पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमणी पोखरेलले जानकारी दिनुभयो ।

पूर्वाञ्चल विश्वविद्यालय कला, कानुन तथा शिक्षा संकायका डिन प्रा.डा. अनिलकुमार पोखरेलले क्लिनिकल लिगल एजुकेसनबाट विद्यार्थीहरूले व्यवहारिक ज्ञान पाउनुका साथै नागरिक पनि लाभान्वित भएको टिप्पणी गर्नुभयो । 

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत काठमान्डु स्कुल अफ ल, हबिब एजुकेसन फाउण्डेशन कलेज अफ ल, ब्राइट भिजन कलेज र कलेज अफ लका ३० जना विद्यार्थीले स्थानीय तहमा ३० दिन बसेर क्लिनिकल लिगल एजुकेसन सञ्चालन गरेका थिए । 

धनकुटाको शहीद भूमि गाउँ पालिकाका अध्यक्ष मनोज राई, इलामको सन्दकपुर उपाध्यक्ष हरि बहादुर लुङ्गेली, पाँचथरको कुम्मायक गाउँ पालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्का लगायतले विद्यार्थीहरूले उठाएका समस्या क्रमशः पुरा गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । यस्तो कार्यक्रमले स्थानीयका साथै स्थानीय तह पनि लाभान्वित भएकाले कार्यक्रमलाई निरन्तरता दिन विश्वविद्यालयसँग माग गर्नुभयो ।   

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ९ : २९ बजे