एमालेकाे समृद्धिका लागि सङ्कल्प यात्रा आज पुष्पलालको जन्मथलो रामेछाप पुग्दै

काठमाडौँ । नेकपा एमालेले जारी राखेका पुष्पलाल (मध्य पहाडी) राजमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा आज पुष्पलालको जन्मथलो रामेछाप पुग्दै छ । 

आज धुलिखेलबाट प्रस्थान गर्ने यात्रा टोली रामेछापमा नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थान मन्थलीमा आएर बास बस्ने एमालेले जनाएकाे छ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार धुलिखेलबाट आजको यात्रा सिँधै दोलखातर्फ जाने र दोलखा जाने क्रममा अध्यक्ष केपी शर्मा ओलीले दोलालघाट, खाडीचौर, खरीढुंगा, चरिकोट ,किर्ने लगायतका ठाउँहरूमा स्थानीयबासिन्दाहरुसँग भेटघाट र अन्तरक्रिया गर्नुहुनेछ । त्यस्तै आज बिहानको खाना चरिकोटमा हुनेछ । चरिकोटबाट फर्कँदा पुष्पलालको जिल्ला रामेछापको मन्थली आउने कार्यक्रम छ । रामेछापमा अध्यक्ष ओली सहितका नेताहरूले संस्थापक महासचिव पुष्पलालप्रति श्रद्धाञ्जली व्यक्ति गर्नुहुनेछ ।

आजको यात्रा १६० किलोमिटरको हुने  एमालेले जनाएकाे छ।

नेकपा स्थापना भएको यस वर्ष ७५औँ वर्ष पुगेको छ । सोही अवसरमा पार्टीले आफ्ना संस्थापक नेताको स्मृतिमा निर्माण भएको पुष्पलाल मध्य पहाडी राजमार्गमा १९ दिने समृद्धि यात्रा सुरु गरेको हो ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार, गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने ,विकास निर्माण र हाल भइरहेका समस्याहरूको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले यात्रा आयोजना गरिएको एमालेले जनाएको छ । 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ७ : ४४ बजे