आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’

​​​​​बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथु्र’ भएको छ । 

इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा दुई हजार सात सय मिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल) निर्माण गरेको हो ।

संयुक्त ऊर्जा लिमिटेडले निर्माण गर्न लागेको यस आयोजनामा २०७८ मङ्सिरदेखि टनेल निर्माण सुरु भएर शनिवार टनेल ब्रेकथ्रु गरेको आयोजनाका प्रमुख रवीन्द्र हमालले जानकारी दिनुभयो । 

उहाँका अनुसार हिमाली क्षेत्र र प्राकृतिक प्रकोपलगायत कारण आयोजनामा करिब २० महिना मात्रै नियमित रूपमा काम भएको छ । “आयोजनाको सबैभन्दा कठिन मानिने टनेल जोड्ने काम सकिएको छ, ड्यामसाइड र विद्युत् गृहमा समेत धमाधम काम भइरहेको छ”, उहाँले भन्नुभयो । 

सत्तरी प्रतिशत निर्माण सम्पन्न भएको यस आयोजनामा आगामी आठ महिनाभित्र निर्माण सकेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । रघुगङ्गा नदीस्थित फेदीखोलामा मुहान रहने यस आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनारमा रहने विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । आयोजनामा छ सय मिटर पेनस्टक टनेल रहनेछ । चार सय ९५ मिटर पेनस्टक टनेल खनिसकिएको छ भने एक सय मिटर भर्टिकल पेनस्टक टनेलमध्ये ५० मिटर खन्न बाँकी छ ।

यस आयोजनामा अहिले करिब दुई सय २५ जना कामदारले नियमित रूपमा काम गर्दै आएका छन् । गैर आवासीय नेपाली र नेपालीहरूको  ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैङ्क तथा वित्तीय संस्थाको लगानी छ । यस आयोजनामा नेपाल बैङ्क लिमिटेडको नेतृत्वमा सनराइज बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, सिद्धार्थ बैङ्कले लगानी गरेको आयोजनाले जनाएको छ ।

यस आयोजनामा गत असारमा आएको बाढीले बाँधतर्फ निर्माणाधीन पूर्वाधारमा क्षति पुर्‍याएपछि आयोजनको निर्माण कार्य केही पछि धकेलिएको हो । 

आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर/त्रिपल एस जेभीले आवश्यक जनशक्ति र मेसिन उपकरण परिचालन गरेर आयोजनालाई थप गरिएको लक्ष्यमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ । आयोजना सम्पन्न गर्न करिब रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको छ । 

आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि २३ किलोमिटर लामो प्रसारण लाइन निर्माणको चरणमा छ । 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ९ : ५८ बजे