बिजुलीको तार चुँडिएर खस्दा रौतहटमा खेत जोतिरहेका किसान र गोरुको मृत्यु

रौतहट । रौतहटमा बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका एक जना किसानको मृत्यु भएको छ ।

बिजुलीको तार खस्दा शनिबार मध्याह्न खेत जोतिरहेका माधवनारायण नगरपालिका- ७ लौकाहाका ५५ वर्षीय बैजु पण्डितको मृत्यु भएको हो ।

११ केभीको बिजुलीको तार चुँडिदा करेन्ट लागेर पण्डितसहित एउटा गोरूको पनि मृत्यु भएको छ भने अर्को गोरु भने भाग्न सफल भएको थियो । घटनापछि पण्डितको परिवार र स्थानीयले विद्युत् प्राधिकरणको कमजोरीका कारण बिजुलीको तार चुँडिएको भन्दै विरोध जनाएका छन् ।

स्थानीयको विरोधपछि रौतहटका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्थानीय जनप्रतिनिधिका साथै प्राधिकरणका प्रतिनिधि घटनास्थल पुगेका थिए । उक्त छलफलपछि भने स्थानीयले शव उठाउन दिएका छन् । प्राधिकरणको नियमअनुसार क्षतिपूर्ति रकम पीडित परिवारलाई उपलब्ध गारउने सहमति भएको जनाइएको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : २८ बजे