आन्तरिक हवाई उडानमा अत्यधिक चाप

हेटौँडामा बसको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाइते

मकवानपुर । हेटौँडामा शुक्रवार बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–१५ रातोमाटेमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् ।

शुक्रवार हेटौँडा–१५ रातोमाटेमा ना ४ ख ९५२० नम्बरको बसले ना ५३ प ८५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बारा जितपुरसिमरा उपमहानगरपालिका–१२ बस्ने ३२ बर्षीया निशा कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बसले सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार निशा र चालक उनका श्रीमान् ४३ वर्षीय रोशन कुमार राय घाइते भएका थिए । 

उनीहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा निशालाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार निशाको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते रोशनको खुट्टामा चोट लागेको र उनको चोटको अवस्था सामान्य रहेको शाहले बताउनुभयो । बस र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ३ : ४५ बजे