दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

यु–१९ एसिया कप : नेपाल पाकिस्तानसँग भिड्दै 

काठमाडौँ । एसिसी यु–१९ एसिया कप संयुक्त अरब इमिरियट्स (युएई)मा आजदेखि सुरु हुँदैछ । आज नेपालको युवा टिमले पाकिस्तानको युवा टिमसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘ए’मा रहेको नेपालले पाकिस्तान, भारत र अफगानिस्तानसँग खेल्दै छ । दोस्रो चरणमा प्रवेशका लागि नेपालले पाकिस्तान, भारत र अफगानिस्तानका युवा टिमलाई पराजित गर्नुपर्नेछ । नेपालका लागि आज बिहान ११ः१५ बजे सुरु हुने पाकिस्तान विरुद्धको खेल सबैभन्दा महत्त्वपूर्ण हुनेछ । समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाली टोलीले एसिया कपको उपाधिको सपना देखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत् टमटाले राम्रो खेल्दै उत्कृष्ट नतिजा निकाल्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालको युवा टोलीले एक महिनाअघि मलेसियामा सम्पन्न एसीसी यु–१९ प्रिमियर कप उपाधि जितेर एसिया कपमा स्थान बनाएको हो । एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यु–१९ विश्वकप तयारीको रूपमा लिइएको  छ।

नेपाल र पाकिस्तानसँगै आजै अफगानिस्तान र भारतबीचको खेल हुँदैछ । नेपालले अर्को खेल मङ्सिर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ । समूह चरणका खेल सकिएपछि मङ्सिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : ३९ बजे