आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

लुम्बिनीको राजधानी क्षेत्रको जग्गा खरिदबिक्रीका लागि फुकुवा

तुलसीपुर (दाङ) ।  लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा रोक्का भएको जग्गा खरिदबिक्रीका लागि फुकुवा गरिएको छ । 

मालपोत कार्यालय लमहीले बुधवार सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा फुकुवा भएको जानकारी दिएको हो ।  

एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ताकाट नहुने गरी र जुनसुकै प्रकारको भवन जग्गा आदि अचल सम्पत्तिको स्वरूप परिवर्तन गर्न नपाउने गरी खरिदबिक्रीका लागि वैधता प्रदान गरिएको मालपोत कार्यालय प्रमुख मानबहादुर कुँवरले जानकारी दिनुभयो । 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिपत्रका आधारमा उक्त निर्णय गरिएको प्रमुख कुँवरले स्पष्ट पार्नुभयो । राजधानी क्षेत्रमा पर्ने राप्ति गाउँपालिकाका सबै वडा र गढवा गाउँपालिकाको वडा नं १, २ र ३ को जग्गा फुकुवा भएको हो । 

जग्गा फुकुवाका लागि स्थानीयले पटक–पटक आन्दोलन गरेका थिए । विसं २०७७ मा उक्त जग्गा खरिदबिक्री रोक्का गरिएको थियो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी घोषणा गरेसँगै जग्गा रोक्का गरिएको थियो । 

राप्ती गाउँपालिकाको पूरै नौ वटा वडा, गढवाको १, २ र ३ नम्बर वडा र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको वडा नम्बर ८ र ९ को जग्गा रोक्का गर्ने निर्णय भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ७ : ५९ बजे