सुनको मूल्यमा नयाँ कीर्तिमान

यातायात कार्यालयको ६१ करोड राजस्व हिनामिना प्रकरण : फरार पाँच जना पक्राउ

मोरङ । यातायात व्यवस्था कार्यालय सुनसरी इटहरीको ६१ करोड रुपैयाँ बढी राजस्व रकम हिनामिना गरी फरार रहेका अभियुक्तमध्ये पाँच जना पक्राउ परेका छन् । यस मुद्दामा विशेष अदालतले नौ जनालाई दोषी ठहर गरेको थियो ।

विशेष अदालतको ०७९ साल चैत ८ गतेको फैसलाबाट भ्रष्टाचार (राजस्व रकम हिनामिना) कसुरमा उनीहरू दोषी ठहर भएका थिए । फरार प्रतिवादीलाई प्रहरीले सोमबार (हिजो) पक्राउ गरेको हो । उनीहरूलाई अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।

पक्राउ परेका टीकाराम अधिकारीलाई मोरङ जिल्ला अदालतले राजस्व रकम हिनामिना कसुरमा नौ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवाना गरेको थियो । यस्तै, देवराज नेपाललाई आठ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवाना गरिएको थियो । नयराज नेपाललाई आठ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवाना गरिएको थियो ।

मणिराज दाहाललाई सात वर्ष ११ महिना २३ दिन कैद र चार करोड ३४ लाख पाँच हजार ५९४ रुपैयाँ जरिवाना गरिएको थियो । कुमारबहादुर कटुवाललाई ६ वर्ष कैद र एक करोड एक लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना गरिएको थियो ।
विशेष अदालतले राजस्व हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन उपसचिवहरू विष्णुप्रसाद पौडेल, नयराज नेपाल, रमेशप्रसाद दाहाल र होमनाथ भट्टराईलाई कैद सजाय तोकेको थियो । कार्यालयका लेखा अधिकृतहरू कुमार कटवाल र टीकाराम अधिकारी पनि दोषी ठहर भएका थिए ।

यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई मुद्दा दायर गरेको थियो । ०७३÷७४ को फागुन मसान्तसम्मको राजस्वबापतको रकम ६१ करोड २१ लाख २८ हजार रुपैयाँभन्दा बढी हिनामिना भएको पुष्टि भएको थियो । यो हिनामिनामा तत्कालीन लेखा अधिकृत सुरेश अधिकारी, लेखापालहरू देवराज नेपाल र रुद्रप्रसाद दाहाल पनि संलग्न भएको अदालतको ठहर थियो ।

यातायात कार्यालय इटहरीमै आर्थिक वर्ष ०६९÷७० देखि ०७०/७१ सम्म गरिएको अर्को अनियमितता सम्बन्धमा छुट्टै मुद्दा दायर गरिएको थियो । त्यसमा होमनाथ भट्टराई र विष्णुप्रसाद पौडेल दोषी ठहर भएका थिए । तत्कालीन सहलेखापाल टंकबहादुर खड्कालाई अदालतले लेखा अधिकृत अधिकारीसरह कैद, बिगो र जरिवाना तोकेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ५ : १२ बजे