दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमाले अध्यक्ष ओलीद्वारा भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको निरीक्षण, कामलाई गति दिन आग्रह 

​​​​​​​काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि नै टनेल निर्माणको काम भएको भए पनि भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको काममा पछिल्लो समय ढिलाइ भइरहेको बताउनुभएको छ । 

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको निरीक्षणका क्रममा झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रामा रहनुभएका ओलीले आफ्नो पालामा टनेलको ब्रेक थ्रु गरिएको भए पनि अहिले आएर कामले गति लिन नसकेको उल्लेख गर्नुहुँदै आयोजनाको कामलाई गति दिनुपर्ने बताउनुभयो ।  ‘यथाशीघ्र सम्पन्न गर्न सबैको ध्यान जाओस् भन्न चाहन्छु’, अध्यक्ष ओलीले भन्नुभयो । 

ढिलो चाँडो जे भए पनि आयोजनाको काम सम्पन्न हुनेमा भने उहाँले विश्वास व्यक्त गर्नुभयो । काम छिटो हुँदा किसानले छिटो लाभ लिन पाउने उहाँले बताउनुभयो । ओलीले निर्माणको काममा खट्ने कर्मचारीहरूलाई भने धन्यवाद दिनुभयो ।

निर्माणको गुणस्तरमा कुनै पनि सम्झौता नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।  सो आयोजना प्रकृतिसँगको कारोबार भएकोले सानो लापरबाहीले पनि ठुलो क्षति हुने भएको बताउँदै कामको गुणस्तरमा सम्झौता गर्न नहुने अध्यक्ष ओलीको धारणा छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ वैशाख ३ गते मङ्गलवार ब्रेक थ्रु गरिएको थियो । चीनको सीआइसी र चाइना इन्जिनियरिङ ओभरसिज प्रालिको संयुक्त निर्माणमा आयोजनाको काम भएको हो । सो आयोजना निर्माण भएपछि बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने छ ।  आयोजनाबाट ४६.८ मेगावाट विद्युत् समेत उत्पादन हुने छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दिया जिल्लामा सिँचाई सुविधा पुर्‍याउने सो आयोजनाको लक्ष रहेको छ  । सो आयोजनाको सुरुङको लम्बाइ १२ हजार मिटर रहेको छ । 

आयोजना स्थलमा अध्यक्ष ओलीसँगै नेकपा एमालेका केन्द्रीय पदाधिकारी तथा नेताहरू पुग्नु भएको थियो । उहाँहरूले निर्माणमा भएको प्रगतिको बारेमा पनि जानकारी लिनुभएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १० : ०७ बजे