नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले झुलाघाट–चिवाभङ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रामा छ । यात्राको क्रममा जनताले नेकपा(एमाले)का नेताहरू र खासगरी पार्टी अध्यक्ष के पी शर्मा ओलीप्रति देखाएको आस, भरोसा र सम्मानले एमाले मात्र देशको सही नेतृत्व दिन सक्ने पार्टी हो भन्ने प्रष्ट पारेको छ ।
यात्राको क्रममा सम्बन्धित जिल्लाका जनताका वास्तविक समस्या, विकासका सम्भावना र पार्टीको सुदृढीकरणमा पार्टीले विशेष ध्यान दिएको छ । ती जिल्लाको पर्यटकीय सम्भावना, स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरण, सुविधा सम्पन्न नयाँ सहरहरूको विकास र विस्तार एमालेको सङ्कल्प यात्राका प्रमुख विषय हुन् । पार्टी हाल प्रतिपक्षमा रहेको कारण सरकारले गर्नुपर्ने तत्काल र दीर्घकालीन कार्यहरू त गर्न सक्दैन, तर पार्टी सत्तामा पुग्दा मध्य पहाडमा तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामको खाका निर्माण गरिरहेको छ ।
देशमा यति बेला प्रतिगमनकारीहरू सलबलाएका छन् । आफ्नो जगसहित करिब दुई दशक अगाडि नै तुमुलकारी जनबलबाट उखेलिएको राजतन्त्रका नाइके ज्ञानेन्द्र फेरि सत्तामा फर्किने मृगमरिचिका बोकेर केही विवादास्पद र घृणित पात्रको उक्साहटमा जनताले दिएको थान्कोबाट बाहिर निस्कने र असन्तुष्टहरूको सानो समूह लिएर हिँड्न थालेका छन् । सामन्ती आर्थिक प्रणालीको जगमा करिब साढे दुई शताब्दी शासन गरेको, चारित्रिक, नैतिक र राजनीतिक धरातल गुमाइसकेको शाह परिवार फेरि आफ्नो पारिवारिक शासन फर्काउन सकिन्छ कि भनेर लागिपरेको देखिन्छ । सरकारले राम्रो डेलिभरी दिन नसकेको, प्रमुख गणतन्त्रवादी पार्टीमा चरम असमझदारी र वैमनस्य पैदा भएको मौका छोपी पूर्व राजाको लिगलिगे दौड सुरु भएको छ । सकेसम्म बढी समाजमा अराजकता पैदा गराउने,प्रमुख राजनीतिक शक्तिलाई निशाना केन्द्रित गर्ने र हिन्दु राज्यको मुद्दामार्फत शक्ति र सत्ता प्राप्त गर्ने उनीहरूको रणनीति देखिन्छ । नेपाली जनताको उन्नति र प्रगतिमा निरन्तर लागिरहेको, समाजवादको आधार तयार पार्न ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा बोकेर अगाडि बढिरहेको एमालेलाई निशाना बनाएर प्रतिगमनकारी हर्कत हुँदैछन् ।
पूर्व पञ्चहरू, केही स्वनामधन्य विकृत धनाढ्यहरू, समाजमा अराजकता सिर्जना गरेर आफ्नो स्वार्थ सिद्ध गर्न चाहनेहरू, परिवर्तनको लागि हिजो ठुलै योगदान गरेका तर सत्तामा पुग्दा राम्रो डेलिभरी दिन नसकेका दलहरूसँग असन्तुष्ट सानो जनसमूहको मिलीभगतमा उनीहरूको ‘आन्दोलन’ चलिरहेको छ । विकृति, विसङ्गति, भ्रष्टाचार र अकर्मण्यताबाट मुक्त हुन नसके पनि अन्धकार र उकुसमुकुस सुरुङबाट उज्यालो र उन्मुक्त अवस्थामा आइपुगेको नेपाली समाजलाई पुनः पछाडि फर्काउने दिवास्वप्न देख्न थालेका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको डेढ दशकपछि यस्तो अवस्था किन आयो ? रछ्यानमा फालिएको राजतन्त्रको पक्षमा सानै भए पनि जनताको समूह पछि लागिरहेछ ? लामो अलमलपछि गणतन्त्रवादी बनेको नेपाली काँग्रेस र गर्भे गणतन्त्रवादी कम्युनिष्टहरू किन किंकर्तव्यम् विमूढ भएर बसेका छन् ? वर्तमानमा देखिएको अराजकता नियन्त्रणमा सत्ता गठबन्धन किन नस्प्रभावी बनिरहेछ ? लोकतन्त्र प्राप्तिको लागि भएको आन्दोलनमा मिलेर सफलता पाएका दलहरूले सत्तामा रहँदा किन जनतालाई चित्त बुझ्दो भूमिका देखाउँदैनन् ? सम्भवतः यी प्रश्न नै अहिलेका यक्ष प्रश्न हुन् । जनतामा हाल देखा परेको निराशालाई केही मात्रामा भए पनि आशाको सञ्चार गर्न एमालेको यो सङ्कल्प यात्रा सफल हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।
आज सबैतिर अराजकता छ । राज्य सञ्चालनमा अराजकता छ, भूकम्पपीडितलाई राहत वितरणमा मनपरी छ । सडकमा प्रतिगमनकारी अराजकता छ । नेपाली समाजलाई असभ्यता र अभद्रतातर्फ डोर्याउने प्रयास भइरहेको छ । यस्तो परिस्थितिमा देशको मुख्य जिम्मेवार पार्टी एमाले टुलुटुलु हेरेर बस्न सक्दैनथ्यो । जनतालाई वस्तुस्थितिको यथार्थ जानकारी गराउनु र सचेत गराउनु उसको परम कर्तव्य हो । त्यही कर्तव्य पूरा गर्न एमाले हाल मध्य पहाडी जनताको घर दैलोमा छ ।
अराजकताको इतिहास हेर्दा महाभारत कालतिर पुग्नु पर्ने हुन्छ । राज्यको मृत्युको कारण के हो ? भन्ने प्रश्नमा युधिष्टिरको जवाफ थियो–अराजकता । ग्रीक दार्शनिक सुकारात व्यक्तिवादको पक्षपोषण गर्थे, राज्यविहिनताको वकालत गर्थे । बेलायती चिन्तक गडविन आफ्नो प्रसिद्ध कृति पोलिटिकल जस्टिसमा राज्यको आवश्यकता नै नभएको दलिल पेस गरेका छन् । संसदारका विभिन्न देशमा भएका अराजकतावादी आन्दोलनको यहाँ चर्चा गरेर साध्य छैन ।
पछिल्लो समयको नेपालको अराजकताको चर्चा गर्दा यसको जन्म माओवादी आन्दोलनसँगै भएको हो भन्न छुटाउनु हुँदैन । माओवादी विद्रोहको दश वर्षे अवधिमा नेपाली समाजमा अराजकताले सीमा नाघेको थियो । नेकपा(एमाले), नेपाली काङ्ग्रेसजस्ता पुराना परिपक्व दलको सुझबुझको कारण १२ बुँदे सम्झौता, त्यसको कार्यान्वयन, संयुक्त जनआन्दोलन, राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसक्दा पनि माओवादी शक्ति अराजकताबाट मुक्त हुन सकेन । पहिलो संविधानसभाले संविधानको खाका अन्तिम रूप दिन लाग्दा माओवादी सुप्रिमो प्रचण्डले जातीय राज्यको वकालत गर्दै नेपालका जनजातिलाई भड्काउन भगिरथ प्रयत्न गरे । फलतः प्रथम संविधानसभा संविधान नदिई विघटन हुन पुग्यो । दोस्रो संविधानसभामा नेपाली जनताले माओवादीलाई साइजमा थन्क्याएपछि मात्र नेपालले संविधान पाउन सक्यो ।
संविधान बनिसकेपछि पनि सत्ता सञ्चालनमा माओवादी अराजकताले कुनै न कुनै रूपमा असर गरिरह्यो । राजनीतिक स्थायित्व, सुशासन र देशको आर्थिक समृद्धिको मामिलामा प्रचण्डको ‘भद्रगोलमा गोल गर्ने’ नीतिको नकारात्मक प्रभाव परिरह्यो ।
देशमा अराजकताको अन्त्य, राजनीतिक स्थायित्व र समृद्धि चाहने नेकपा(एमाले)ले ०७४ सालमा एमाले–माओवादी एकतामार्फत शक्तिशाली सरकार निर्माण गर्ने र सो सरकारमार्फत नेपाली जनतालाई सुशासन र समृद्धि प्रदान गर्ने नीति लियो । एकता पनि भयो । शक्तिशाली सरकार पनि बन्यो । तर विडम्बना, पार्टी र सरकारमा माओवादी अराजकता नियन्त्रण गर्न सकिएन । पार्टी नेतृत्वको विरुद्ध प्रचण्डको अराजकताले केही समयमै उग्र रूप लिन थाल्यो । झन् माधव–झलनाथ–वामदेवले प्रचण्डको साथ दिन थालेपछि त पार्टीभित्रको अराजकता चरमचुलीमा पुग्यो । जेनतेन ओली सरकारले नेपालको चुच्चे नक्सा सार्वजनिक र संसद्बाट पारित गराउन्ज्याल टिकेका प्रचण्ड फरक कित्तामा पुगे । उनी पुनः भद्रगोल र अस्थिरताको सारथि बने । अस्वाभाविक रूपमा नेपाली काँग्रेसले, एमालेबाट चोइटिएका माधव–झलनाथले र स्वाभाविक रूपमा मधेसवादी दलले उनलाई नेता मानिरहे, मानिरहेका छन् । हाल उनको शासन छ, जताततै अलमल छ, अराजकता र बेथिति छ । प्रचण्ड र माधवले विभाजनमार्फत कमजोर पारेको नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनः सशक्त बनाउन, विभिन्न भ्रमवश पार्टीबाट बाहिरिएका कम्युनिष्ट नेता कार्यकर्तालाई यात्राकै क्रममा समेट्ने एमालेको भगीरथ प्रयास हुनेछ ।
एमालेको तीन हप्ते मध्य पहाडी सङ्कल्प यात्राको समापन हुँदा जनतामा उत्साह पैदा हुनेछ,प्रतिगमनकारीको चुरीफुरी साइजमा आउने छ, सत्ता गठबन्धनको अकर्मण्यता र कुशासनको भण्डाफोर हुनेछ, पार्टी थप शक्तिशाली र सुसङ्गठित हुनेछ र भोलिको गन्तव्य थप प्रष्ट हुनेछ ।
प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार ११ : ०६ बजे
प्रतिक्रिया