सुनको मूल्यमा नयाँ कीर्तिमान

लुम्बिनी ककरहवामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु, स्थानीयले बस जलाए 

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारी लुम्बिनी ककरहवा सडक खण्डमा आज बिहान स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

सूर्यपुरा ३  सिद्धार्थ बोर्डिङ स्कुलको लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । 

दुर्घटनामा दुई जनाको घटनास्थलमा मृत्यु भएको र एक जना घाइते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ का २१ वर्षीय मोहम्मद ईरसाद र १६ वर्षीय रुविना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट मोटरसाइकलमा सवारहरूको मृत्यु भएपछि स्थानीयले स्कुल बसमा आगो लगाई दिएका छन्। आगोले बस पूर्ण रूपमा क्षति भएको छ।  

त्यसैगरी उक्त दुर्घटनामा घाइते सोही ठाउँकै १७ वर्षीय अप्सना खातुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

घटनापछि बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ११ : ४३ बजे