दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान

काठमाडौँ । संयुक्त अरब इमिरेट्स(युएई)का लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसरहरूबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गर्नुभएको छ । 

युएईको दुबइमा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका अवसरमा आयोजित ‘नेपाल युएई बिजनेस फोरम’ लाई बिहीबार साँझ सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र लगानीको वातावरण पनि बनेकाले नेपालमा लगानी गर्न युएईका लगानीकर्ताहरूलाई आह्वान गर्नुभएको हो । 

अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सिर्जना पनि भएको र नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेकाले नेपालमा लगानी गरेर लाभ लिन उनीहरूलाई आग्रह गर्नुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।   

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताउनुभयो । आफ्नै आन्तरिक बजार तथा  भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युत्मा  गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

उहाँले थप पर्यटकलाई स्वागत गर्न नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले ‘लक्जरी’ होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको पनि उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले युएईका लगानीकर्ताहरूलाई होटल, केबुलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागिसमेत आग्रह गर्नुभयो ।

अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडीबुटीको विश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेकोतर्फ पनि युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनुभयो ।

डिजिटल अर्थतन्त्रको विकासले आइसिटी क्षेत्रमा युवाहरूको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावनाहरू प्रशस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो । 

व्यापार र लगानीमा बैङ्किङ तथा वित्तीय क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेकाले नेपालको बैङ्किङ क्षेत्रमा युएईको लगानी प्रवर्द्धन गर्न पनि अध्यक्ष ढकालले आग्रह गर्नुभयो ।

कडा परिश्रम र इमानदारिताका लागि नेपाली श्रम शक्ति परिचित रहेकोतर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष ढकालले श्रमिकहरूलाई थप दक्ष बनाउन प्राविधिक तथा व्यावसायिक जनशक्ति विकासमा समेत नेपालमा लगानी गर्न सकिने जानकारी दिनुभयो । 

दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन सबै तहमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ तत्पर रहेको पनि अध्यक्ष ढकालले जानकारी गराउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभएको नेपाल युएई बिजनेस फोरममा नेपाल र युएईका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो । त्यस अवसरमा नेपाल र युएईमा लगानीका सम्भावना र अवसरहरूका बारेमा दुई देशका लगानीकर्ताहरूले छलफल पनि गरेका थिए ।  

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ९ : १६ बजे