बाजुराको धुलाचौरमा जिप दुर्घटना एक जनाको मृत्यु,एक घाइते 

बाजुरा । बाजुराको हिमाली गाउँपालिका ६ धुलाचौर नजिकै बोलेरो जीप दुर्घटना भएको छ ।  

धुलाचौरबाट कोल्टीतर्फ जाँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना  घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका ९ का २७ बर्षिया मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले बताउनु भयो।

त्यस्तै जीपमा सवार बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ३ का अन्दाजी १८ बर्षिया वसन्त धामी घाइते भएका छन्  उनको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ऐरीले जानकारी दिनुभयो ।

जिपमा  सवार ४ जना मध्ये  चालक र अर्का एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । जीप चालक खत्याड गाउँपालिका ९ का दल बहादुर लावणलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ३ : ५७ बजे