विपिन जोशीको बिना सर्त रिहाइ गर्न आग्रह गर्ने संसदीय समितिको निर्णय

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमासको बन्धनमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको बिना सर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले अन्तर्राष्ट्रिय समुदायसँग बिना सर्त रिहाइ गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले विपिन जोशीको बिना सर्त अविलम्ब रिहाइको लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय भएको बताए ।

उनले नेपाल कुनैपनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले नेपालका नागरिकलाई कुनैपनि कारणबिना बन्धक बनाइनु नहुने बताए ।

साथै समितिको बैठकले समितिको ६ महिनाको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरणका लागि नौ सदस्यीय कार्यदल गठन गरेको बताए । उनले कार्यदलले समितिको प्राथमिकीकरण कुन विषयलाई कहिले टुंग्याउने भन्ने निष्कर्ष निकाल्ने बताए ।

उनले भने ‘नेपाली युवा जो इजरायल जानुभएको थियो विपिन जोशी । हमासले इजरायलमा आक्रमण गर्दा विपिन जोशीलाई बन्धक बनाएको भन्ने छ तर अहिलेसम्म जानकारी छैन । विपिन जोशीको बिना सर्त अविलम्ब रिहाइको लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौँ । नेपाल कुनैपनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनैपनि कारणबिना यसरी बन्धक बनाइनु हुँदैन । यो समितिको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरण ६ महिनाको लागि तय गर्न एउटा कार्यदल निर्माण गरेका छौँ । त्यो कार्यदल यो समितिको सभापति राजकिशोर यादवको संयोजकत्वमा ९ जना समितिका सदस्यहरू छौँ । यो कार्यदलले प्राथमिकीकरण र केके गर्ने, कुन विषयलाई कहिले राखेर कहिले टुंग्याउने भन्ने निष्कर्ष निकाल्छौँ । त्यसको लागि राजकिशोर यादव, उदय समशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, डा। धवल समशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल, सम्झना थपलियालाई राखेर ९ सदस्यीय कार्यदल बनाइएको छ ।’

कार्यदलका संयोजक राजकिशोर यादवसहित सदस्यमा उदय समशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, डा। धवल समशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल, सम्झना थपलिया छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ३ : ४६ बजे