दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुरुङमा १७ दिन थुनिँदा ‘मोबाइल गेम र योगको सहारा’

भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङको प्रवेश मार्ग थुनिएपछि १७ दिनपछि उद्धार गरिएका कामदारहरूले आफूले सुरुङभित्र मन बुझाउन र समय बिताउन अपनाएका जुक्तिबारे बताएका छन्।

मङ्गलवार उद्धार गरेर उनीहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो। उनीहरूको मनोबल उच्च देखिन्छ। अस्पतालमा उनीहरूले खाना खाँदै गरेको भिडिओ सार्वजनिक भएको छ।

सुरुङमा फसेका ४१ जनालाई सकुशल उद्धार गरिएपछि भारतमा ठूलो राहत महसुस गरिएको थियो र मानिसहरूले हर्षोल्लास मनाएका थिए।

सुरुङको प्रवेशमार्ग थुनिएको ठाउँबाट छिराइएको ९० सेन्टिमिटर चौडा पाइपबाट उनीहरूलाई एकएक गर्दै बाहिर निकाल्दा भारतमा रात छिप्पिइसकेको थियो।

लामो समयदेखि उद्धारकार्य अवरुद्ध हुँदै आएको थियो। मङ्गलवार अपराह्ण उनीहरूलाई बाहिर निकाल्न मिल्ने गरी पाइप सुरुङभित्र पुर्‍याउने काम सफल भएपछि सबै जना ढुक्क भएका थिए।

बाहिर आएका कामदारहरूले लामालामा पाइला चालेको, हाँसेको र हात हल्लाएको अनि अरू मानिससँग हात मिलाएको देखिने भिडिओ सार्वजनिक भएको थियो।

उनीहरूका आफन्त र सहकर्मीहरू सुरुङबाहिर उद्धारको पर्खाइमा कैयौँ दिनदेखि बसेका थिए।

उनीहरूले उद्धार भएका ती कामदारहरूलाई फूलको माला लगाइदिनुका साथै अँगालो हालेका थिए र मिठाई पनि दिएका थिए।

उद्धार गरिएका एक कामदार मञ्जितलाई उनका बुबा चौधरी लालले चुम्बन गर्दै गरेको तस्बिर सञ्चारमाध्यममा आएको थियो।

उनले आफ्ना छोरालाई देख्न पाउँदा खुसी र राहत मिलेको  बताए।

“निर्माण क्षेत्रमै भएको एउटा दुर्घटनामा मैले एक छोरालाई गुमाइसकेको छु। म अर्को छोरा पनि गुमाउने कुरा सोच्न पनि सक्दिनँ,” उनले भने।

दीपावलीका बेला थुनिए, बाहिर आएपछि मनाइयो

ती मजदुरहरू सुरुङमा थुनिएको बेला भारतमा दीपावली पर्व मनाउने तयारी हुँदै थियो।  

सुरुङमा थुनिएका कामदार राम सुन्दरकी आमा धनपतिले एएनआई समाचारसंस्थालाई आफ्ना छोरा सुरुङबाहिर निस्किएपछि मात्रै दीपावली मनाएको बताइन्।

सुरुङबाट उद्धार भएका धेरै कामदारका परिवारले सकुशल उद्धार गरेको भन्दै त्यसमा संलग्नहरूको प्रशंसा पनि गरेका छन्।

कतिपय कामदारहरूले आफूले सुरुङमा १७ दिन बिताउँदाको अनुभव सञ्चारमाध्यममा सुनाएका छन्।​​​​​​​

अस्पतालमा के गर्दै छन्

​​​​​​​एक कामदारले आफूहरूलाई उपचारका लागि लगिएको अस्पतालमा आफूले खिचेको आफ्ना सहकर्मी कामदारहरूको भिडिओ एएनआईलाई उपलब्ध गराएका छन्।

उक्त भिडिओमा ती कामदारहरू अस्पतालको बिछ्यौनामा बसिरहेको र आफ्नो मोबाइल फोन हेर्दै गरेको देख्न सकिन्छ।

उनीहरूले त्यहाँ खाँदै गरेको,  चिया पिउँदै गरेको र सेल्फी खिच्दै गरेको दृश्य पनि उक्त भिडिओमा देखिन्छ।

भिडिओमा केही कामदारहरूलाई दाँत माझ्दै गरेको देखिन्छ। केही भने पानी भर्ने ठाउँनजिकै उभिएर गफ गरिरहेका छन्।

सुरुङमा थुनिएका सत्य देवले टाइम्स अफ इन्डिया पत्रिकासँग कुरा गर्दै सुरुङभित्र “उकुसमुकुस” भएको र बाहिर निस्किन पाउँदा राहत महसुस भएको बताएका छन्।

मोबाइल गेम खेलेर र योग गरेर समय बिताए

र्का कामदार चमडा उरावले इन्डियन एक्सप्रेस पत्रिकासँग सुरुङभित्र आफूलाई बेलाबेलामा छटपटी भएको र कहिले बाहिर निस्किन पाइएला भन्ने लागेको बताएका छन्।

“तर मैले हरेस खाइनँ,” उनले भने।

उनका अनुसार उनले साथीसँग मोबाइल फोन मागेर त्यसमा गेम खेल्दै समय कटाएका थिए।

उद्धारकर्मीहरूले सानो पाइपबाट सुरुङभित्र पठाएको चार्जरबाट उनका साथीले सुरुङभित्रै मोबाइल चार्ज गरेका थिए।

“नेटवर्क नभएका कारण बाहिर कसैसँग फोनमा कुरा गर्ने सम्भावना थिएन। त्यसैले हामीले कुराकानी गरेर राम्रो सम्बन्ध बनायौँ,” उनले पत्रिकासँग भनेका छन्।

सुरुङबाट उद्धार भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमा कुरा गरेका एक कामदारले आफूहरूले एकअर्कालाई ढाडस दिएको बताए। उनका अनुसार सुरुङभित्र रहेका सबै जनाले सँगसँगै खाने गरेका थिए।

“हामी सुरुङभित्र सक्रिय रहनका लागि त्यहाँ भित्र हिँड्ने र योगाभ्यास पनि गर्थ्यौँ,” उनले भने।

अर्का कामदारका अनुसार सुरुसुरुका दिनमा उनीहरूले आफ्नो मोबाइलको ब्याट्री बचाउन समय हेर्न मात्रै अन गर्ने गरेको र अधिकांश समय बन्द गरेर राख्ने गरेको बताए।

तर सुरुङभित्र चार्जर पठाइएपछि उनीहरूले ढुक्क भएर आफ्नो मोबाइल चलाउन र मनोरञ्जन लिन पाए।

उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित ४.६ किलोमिटर लामो सिल्क्यारा सुरुङको एउटा खण्ड नोभेम्बर १२ मा भासिएको थियो।

उक्त सुरुङ सरकारको महत्त्वाकाङ्क्षी 'चार धाम' परियोजनाको एउटा अङ्ग हो। यो परियोजनाले उत्तराखण्ड राज्यमा अवस्थित महत्त्वपूर्ण धार्मिक क्षेत्रहरूलाई दुई लेनको कालोपत्रे सडकबाट जोड्ने लक्ष्य लिएको छ।

पर्यावरणविद् र स्थानीयवासीहरूले चार धाम परियोजनासहित उक्त क्षेत्रमा तीव्र गतिमा भइरहेका निर्माण कार्यहरूले उक्त क्षेत्रमा जमिन भासिने र अन्य समस्या उत्पन्न हुने गरेको बताएका छन्।

उनीहरूले निर्माणकार्यकै कारण सुरुङ भासिएको उनीहरूको आशङ्का छ।

साभार: बीबीसी

 

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  १ : २३ बजे