दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विश्वविख्यात कूटनीतिज्ञ एवं अमेरिकी पूर्वविदेशमन्त्री किसिन्जरको निधन

काठमाडौं । अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ ।

कनेक्टिकटस्थित आफ्नै निवासमा बुधबार उनको निधन भएको किसिन्जर एसोसिएट्सले वक्तव्यमार्फत जनाएको छ । उनको निधनको कारणबारे भने जानकारी दिइएको छैन ।

विश्वविख्यात कूटनीतिज्ञका रुपमा परिचित उनले तत्कालीन अमेरिकी राष्ट्रपतिहरु रिचर्ड निक्सन र जेराल्ड फोर्डको कार्यकालमा विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए ।

सन् १९७३ मा उनले नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए । भियतनाम युद्ध रोक्न महत्वपूर्ण भूमिका खेलेको भन्दै स्विडिस एकेडेमीले उनी र भियतनामी कूटनीतिज्ञ ली डक थोलाई संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार प्रदान गरेको थियो ।

सन् १९२३ मा उनको जर्मनीमा जन्म भएको थियो । सन् १९३८ मा नाजी जर्मनीबाट भागेर उनको परिवार यहुदी आप्रवासीका रुपमा अमेरिका पुगेको थियो । सन् १९४३ मा अमेरिकी नागरिकता प्राप्त गरेपछि उनी अमेरिकी सेनामा भर्ती भएका थिए । तीन वर्ष सेनामा काम गरेपछि उनी गुप्तचर निकायमा प्रवेश गरेका थिए । उनले स्नातक, स्नातकोत्तर, विद्यावारिधी गरेपछि हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धबारे अध्यापन गराएका थिए ।

कूटनीतिसम्बन्धी थुप्रै किताब लेखेका उनको सन् २०२२ अप्रिलमा पछिल्लो पुस्तक ‘लिडरसिप : सिक्स स्टडिज इन वर्ल्ड स्ट्राटेजी’ प्रकाशित भएको थियो । गत जुलाईमा मात्रै उनले बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  १ : १२ बजे