दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

केपी ओली कप : कोशी प्रदेशको सान्त्वना जित

कास्की । पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित हासिल गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बुधवार पोखरा रङ्गशालामा सम्पन्न लिग चरणको अन्तिम खेलमा कोशीले आयोजक निलो विरुद्ध ९ विकेटले जित हासिल गरेको हो । खेल जिते पनि कोशी घर फर्किने छ । खेलमा आयोजक निलोले दिएको ६८ रनको लक्ष्यलाई कोशीले १ विकेट गुमाउँदै ७।४ ओभरमा पुरा गरेको हो ।

टस जितेर फिल्डिङ रोजेको कोशीले आयोजक निलोलाई १७।५ ओभरमा ६७ रनमा रोक्न सफल भयो । ओपनर रोनिम तिवारीलाई फिर्दोश अन्सारीले शून्य रनमा पेभिलियन फर्काए पछि आयोजक निलो दबाबमा परेको थियो । अर्का ओपनर अर्जुन रायमाझीले व्यक्तिगत २४ रन जोडे । उनलाई सोनु मण्डलले आउट गरे । मेहुल श्रेष्ठ र अभय यादवले १०–१० रन र शुभम खनालले ९ रन जोड्नु बाहेक चार जना खेलाडी डक आउट हुँदै पेभिलियन तिर फर्किए ।

आयोजकलाई सस्तैमा समेट्न म्यान अफ दि म्याच समेत रहेका सर्वण यादवले ३.५ ओभरको स्पेलमा ८ रन दिएर ३ विकेट हात पारे । कमल खत्री र फिर्दोश अन्सारीले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको कोशीका लागि ओपनर सोनु अन्सारीले ३ चौका र ३ छक्का प्रहार गर्दै २२ बलमा ३५ रन बनाए । तेस्रो क्रममा आएका मिनाश थापाले ७ बलमा १८ रन बनाए भने अर्का ओपनर अङ्कित सुवेदी १४ रन जोडे । उनी शुभम खनालको बलमा आउट भए ।

भोली बिहीबार पोखरा रङ्गशालामा दुई सेमिफाइनल खेल सम्पन्न हुनेछन् । पहिलो खेल विभागीय टोली नेपाल आर्मी र बागमती प्रदेश तथा दोस्रो खेल एपिएफ क्लब र मधेस प्रदेशका बिच हुनेछ । फाइनल खेल शुक्रवार ११ बजे सुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ३ : ५४ बजे