साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

विराटनगरबाट सीप सिकेर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ११ प्रतिशत मात्रै 

​​​​​विराटनगर । विराटनगर महानगरपालिका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत महानगरपालिकाका विषयगत शाखाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा सामीले गरेको अन्तरक्रियामा सामी हेल्भेटास नेपालका डीएन चौधरीले नेपालमा वैदेशिक रोजगारीको वर्तमान अवस्थासहित आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

उहाँले नेपालको कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा २२ दशमलव ७ प्रतिशत रहेको जानकारी दिनुभयो । 

गत आर्थिक वर्ष नेपालबाट हालसम्मकै सबैभन्दा बढी ७ लाख ७१ हजार ३२७ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएको उहाँले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा ६ लाख ३० हजार ८७८ जनाले श्रम स्वीकृति लिएका थिए । 

चौधरीका अनुसार कोशी प्रदेशबाट १ लाख ६८ हजार ३०८ जना वैदेशिक रोजगारमा जाँदा मोरङबाट २९ हजार ६५८ जना गएका छन् । त्यसमध्ये १३ प्रतिशत महिला वैदेशिक रोजगारका लागि विभिन्न मुलुक गएको उहाँले बताउनुभयो । 

चौधरीले विराटनगर महानगरपालिकाको १, ४, ५, ६, ९, १४, १६, १७ र १८ नम्बर वडाबाट ४ हजार ६३३ जना वैदेशिक रोजगारमा गएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । जसमध्ये ८९ प्रतिशत अदक्ष युवा वैदेशिक रोजगारीमा गएको उहाँले बताउनुभयो । विराटनगर महानगरपालिकाभित्रबाट गएका युवामध्ये ११ प्रतिशतले मात्रै सीप सिकेर गएको चौधरीले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ । 

अन्तरक्रियामा मेयर नागेश कोइरालाले वैदेशिक जाने हरेक युवालाई अनिवार्य रूपमा सीप सिकेर मात्रै जान आग्रह गर्नुभयो । सीप सिकेर जाँदा दुःख कम हुने र पैसा पनि बढी कमाइ हुने उहाँको भनाइ थियो । 

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, शैक्षिक प्रशासन महाशाखाका संयोजक कृष्ण भट्टराई, सामी परियोजनाका प्रमुख दीपक राउतलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

 

 

 

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : ०२ बजे