पोखरा । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले विजयी सुरुवात गरेको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलोलाई ११० रन अन्तरले जित दर्ता ग¥यो ।
नेपाल आर्मीलाई टस जितेर ब्याटिङको निम्तो दिएको आयोजक निलो विरुद्ध आक्रामक प्रस्तुत भएको आर्मीले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९५ रन बनाएको थियो ।
नेपाल आर्मीका लागि पारिको सुरुवात गरेका सन्तोष कार्कीले ३५ बलमा ७ चौका प्रहार गर्दै टिमका लागि सर्वाधिक ४१ रन बनाए । उनी धवन सहनीको बलमा आउट भए । त्यस्तै विनोद भण्डारीले २४ बलमा तिन चौका र तिन छक्काको मद्दतले ३८ रन बनाउँदै शुभम् खनालको बलमा पेभिलिएन फर्के ।
आर्मीका लागि कुशल मल्लले २५ रनको योगदान दिँदा वाशिर अहमदले २३ रन र रोहित पौडेलले १२ बनाए । त्यस्तै सन्दिप रजाली र भिम सार्कीले समान ६–६ रन बनाउँदै नट आउट रहे । आयोजक निलोका लागि मेहुल श्रेष्ठले २ विकेट लिए भने शुभम् खनालले १ विकेट लिए ।
१९६ रनको रन पछ्याएको आयोजक निलो १५.४ ओभरमा ८५ रनमा समेटियो । आर्मीका लागि १।४ ओभर बलिङ गरेका कुशल मल्लले २ रन दिएर तिन विकेट लिए । उनले आयोजक निलोका लागि १० रन बनाएका सिमोन रोय, २ रन बनाएका कुशल रुपाखेती र डायमण्ड मण्डललाई शून्य रनमा पेभिलिएनको बाटो देखाए ।
आयोजक निलोका लागि निर्भिक पाठकले २८ रन बनाउँदै रन आउट हुन पुगे । रणविर यादवले १६ रनको व्यक्तिगत योगदान दिँदा ओपनर रोनिम तिवारीले १५ रन बनाए ।
आर्मीका लागि जितेन्द्र मुखिया र शाहव आलमले समान २–२ विकेट लिए भने रोहित पौडेल र विवेक यादवले समान १–१ विकेट लिए । खेलमा नेपाल आर्मीका कुशल मल्ल म्यान अफ दि म्याच घोषित भए ।
मंगलबार पहिलो खेल सुदूर पश्चिम र नेपाल पुलिस क्लब, दोस्रो खेल कोशी प्रदेश र नेपाल आर्मीकाबीच हुनेछ
प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार ५ : ५३ बजे
प्रतिक्रिया