रामीडाँडा भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । 

उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिनुभयो । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भन्नुभयो “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।” चदाराले छोरीको जन्म दिएकी थिइन् । 

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए ।  

भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । 

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ८ : ५१ बजे