साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

लोकतान्त्रिक गणतन्त्र परिपूर्ण बनाउने राजनीति रोजौँ

हिजोआज देशमा गणतन्त्रभन्दा राजतन्त्र ठिक भन्ने भाष्य स्थापित गर्न खोजिँदै छ। यसका लागि काँग्रेस र कम्न्युनिष्ट पार्टीमा राजतन्त्रप्रति झुकाव राख्ने केही खराब पात्रहरू सक्रिय भएर लागेका छन्। तिनको मनोबल बढाउन कम्फर्टेबल सत्ता गठबन्धनले सहयोगीको भूमिका निर्वाह गरिरहेको छ । त्यसैले त प्रचण्ड र देउवाहरू मुखमा लोकतान्त्रिक गणतन्त्र बगलीमा राजतन्त्रको योजना बोकेर प्रश्न उठ्ने र जनतामा वितृष्णा बढ्ने गरी सत्ताको दुरुपयोग गरेर गतिविधिहरू गर्दैछन्। टिकटक बन्द गराउने र निषेधित क्षेत्र घोषणा गर्ने निर्णय त्यसका पछिल्ला उदाहरणहरू हुन्।

विश्व राजनीतिमा जति-जति नवउदारवादको प्रभाव हाबी हुँदै आयो त्यति-त्यति राजनीति विचारहीन र सम्झौता परस्त बन्यो। अनि त ठुलो शक्ति र बलियो बन्ने चक्करमा राजनीतिमा विचारहीनता बढ्दो छ भने व्यवहार विवादास्पद बन्दैछ। जसका कारणले आम नागरिकको मनोविज्ञान दोहोरो मापदण्डमा रमाउने, स्वछन्द र अराजक प्रवृत्तिलाई सघाउने र भ्रममा परेर भावनात्मक रूपमा भड्किने प्रवृत्ति बढ्दो छ। अचम्म त मान्छेहरू हिजोआज एकातिर अरूमा आदर्श खोज्छ अर्कातिर आफ्नो स्वार्थ मात्र हेर्छ। तैपनि ऊ आफूलाई मात्र ठिक र राम्रो देख्छ। नेपालमा पनि ठ्याक्कै त्यस्तै भइरहेको छ। आजको यो यथार्थ हो, तर बौद्धिक तथा विश्लेषक भन्नेहरू यो यथार्थ भन्दैनन् र लेख्दैनन् अनि जनमनोविज्ञान भ्रमित बनाउने गरी आफ्ना क्षमताहरू प्रयोग गरिरहेका छन्।

नेपालमा जनताले सत्य तथ्य थाहा नपाउँदा र भ्रमहरूमा पर्दा भावनात्मक रूपमा भड्किने वातावरण मात्र बनेको छैन स्वछन्द र अराजक अनि खराब पात्रको नेतृत्वमा आफ्ना अपेक्षा पूरा हुने भ्रममा परेर तिनका पछि लाग्ने काम पनि भइरहेको छ। यो प्रवृत्ति लोकतान्त्रिक गणतन्त्रका लागि चुनौती बन्दैछ। यो चुनौतीलाई अवसरमा बदल्ने क्षमता दूरदृष्टिसँगै दर्शनका आधारमा राजनीति गर्ने नेतृत्वबाट मात्र सम्भव हुन्छ। तर बुर्जुवातन्त्रले छरेको भ्रममा पर्दा जनताले न दूरदृष्टि भएको नेतृत्व चिन्न न त पार्टीको राजनीतिक दर्शन नै बुझ्न सके। बरु अनावश्यक रूपमा भ्रमित भिडको पछि लागेर परिस्थितिलाई अराजक बनाउन सहयोगी बन्न रमाइरहेका छन्।

हाम्रो विकृत मनोविज्ञान समाजमा देखिन्छ, समाजको विकृत मनोविज्ञानको अवस्था देशमा देखिन्छ। अहिले नेपाल भएको यस्तै हो। त्यसैले त जनताको मनोविज्ञान सुसंस्कृत र परिष्कृत बनाउने र देशको अवस्था सकारात्मक रूपमा विशिष्ट बनाउने हो भने हाम्रो शिक्षा व्यवस्थालाई पूर्वीय दर्शनको जगमा विकास गर्नुपर्छ भने राजनीतिक नेतृत्व र गतिविधिहरूको मूल्याङ्कन राजनीतिक दर्शन, अभ्यास र व्यवहारको आधारमा गर्ने क्षमता हामीमा हुनुपर्छ। शिक्षाले जनताको मनोविज्ञानसँगै देशको अवस्थामा सकारात्मक परिवर्तन ल्याउन मुख्य भूमिका खेल्छ भन्ने यथार्थ बुझ्न र बुझाउन नसक्दा एकातिर राज्यले गरेको लगानीले अपेक्षित प्रतिफल दिन सकेन भने अर्कातिर देशको अवस्था अनपेक्षित रूपमा नकारात्मक बनाउन सजिलो भइरहेको छ।

हामीले बुझ्नुपर्थ्यो, “स्वछन्द, अराजक र खराब पात्र प्रवृत्तिहरूको प्रभावसँगै गतिविधिहरू बढ्नु भनेको देशको राजनीति विकृत बनाउन र जनतामा वितृष्णा बढाउन सघाउनु हो। अहिले रवी लामिछाने र दुर्गा प्रसाईहरूको चर्चा बढ्नु अनि उनीहरूका गतिविधिहरूले सञ्चार माध्यमहरूमा प्राथमिकता पाउनु भनेको हामीमा खराब र असल छुट्याउने क्षमता नहुनु हो।” यति बेला प्रश्न उठाउँदा हामीले हाम्रै क्षमता र योग्यतामाथि प्रश्न उठाउनु पर्ने अनि हाम्रा क्षमता र योग्यता विशिष्ट अनि मनोविज्ञान सकारात्मक बनाउने परिपाटी रोज्नुपर्ने भएको छ।

सबै नेता खराब देख्ने, गुण दोषको आधारमा तुलना नगर्ने र भ्रमहरूमा रमाउने चरित्र र चेतना हाबी भएसम्म न हाम्रो मनस्थिति न त देशको परिस्थिति नै सकारात्मक बन्न सक्छ। त्यसैले त देशमा नकारात्मक प्रवृत्ति बढ्दो छ र खराब पात्र र प्रवृत्तिको चर्चा अनावश्यक रूपमा चुलिएको छ। भुषण दाहालले आफ्नो डेल्टा ब्राभो शोमा दुर्गा प्रसाईलाई स्थान दिएर प्रसाईको अनावश्यक प्रशंसा गर्न खोज्नु यसकै परिणाम हो।

यस प्रसङ्गलाई लिएर मधुकर खनालले ट्विटरमा लेखेका छन्, “ब्राभो डेल्टामा दुर्गा प्रसाईको अन्तर्वार्ता रेकर्डले नेपाली पत्रकारिताको स्तर र कार्यक्रमको स्तर निर्धारण गरेको छ। जनताको पैसा ऋण खाने। अनि ऋण मिनाहा हुनुपर्छ भन्ने पात्रलाई त्यत्रो मञ्च दिनुको अर्थ के हो? भुषण दाहाल जी!” यसरी खराब पात्रहरूको चर्चा चलाउनुको मकसद ठिक नभएको अर्थ लाग्छ। हुन त भुषण दाहालको ड्रेस कोडको समीक्षा गरियो भने उनको नियत बुझ्न सकिन्छ। तर यो पाटोमा हाम्रो ध्यान जान सकेको छैन। उनी ज्ञानेन्द्रलाई फेरि राजगद्दीमा राख्ने अभियानअन्तर्गत काम गरिरहेका छन्।

यति बेला हामी “के नेपालमा राजतन्त्र फर्किन सक्छ ?” भन्ने प्रश्नमा घोत्लिनु पर्ने भएको छ। सिधा र प्रष्ट उत्तर, यति बेला नेपालमा राजतन्त्र फर्किन सक्दैन किनभने:
१) राजा वीरेन्द्रको वंश नाससँगै नेपालमा राजतन्त्र सकिएको थियो।
२) जोखिम मोलेर राजतन्त्र फर्काउन लागिपर्ने निःस्वार्थी नेतृत्व र कार्यकर्ता छैन।
३) राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति लोकतान्त्रिक गणतन्त्रको पक्षमा छ। र
​​​​​​​४) राजतन्त्र जनताको चाहानाको विषय पनि होइन। त्यसैले आज हामीले हाम्रा क्षमताहरू लोकतान्त्रिक गणतन्त्रलाई परिपूर्ण बनाउने ढङ्गबाट परिचालन गर्नुपर्ने भएको छ।

“परिपूर्ण लोकतन्त्रले समान रूपमा सम्वृद्धिको वितरणको व्यवस्था खोज्छ भने राजतन्त्रात्मक व्यवस्था अर्थात् बुर्जुवा लोकतन्त्रले असमान रूपमा अवसरहरूको वितरण गर्ने प्रणाली रोज्छ।” यो सत्यलाई मनन गर्दै हामीले समृद्धि र समृद्धिको समान वितरण गर्न खोज्ने प्रणाली रोज्नु र विकास गर्नुपर्छ। तर जनतालाई यो ढङ्गले प्रशिक्षित गर्न सकिएको छैन। त्यसैले त जनताहरू भ्रमित हुँदै भावनात्मक रूपमा भड्किएर अनि अनुचित प्रभावमा परेर बुर्जुवा लोकतन्त्र अर्थात् कम्फर्टेबलवाद र लोकप्रियतावादको पक्षमा मतदान गर्ने भएका छन्। यो क्रम भङ्ग गर्न सक्नुपर्छ।

“हिजोको बिस्तार आज हो भने आजको बिस्तार भोलि र भोलिको बिस्तार नयाँ दिन र नयाँ नेपाल हो। त्यस्तै प्रकृतिअनुसारको जीवजन्तु र बोटबिरुवाहरूको आकृति बन्छ भने आहार विहार र शिक्षाअनुसार व्यक्तिमा विचार र प्रवृत्तिको विकास हुन्छ। यो सत्य नबुझ्दा र बुझाउन नसक्दा हामी आयातित मुद्दा र प्रश्नहरूमा अलमलिएका छौँ। हाम्रो अलमल अहिले बाह्य चलखेल र पश्चागमनको आधार बन्दैछ।” त्यसैले हामीले जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज)को सार बुझ्नुपर्ने भएको छ किनभने भण्डारीले जबजमार्फत समाजवादमा पुग्ने गरेको परिकल्पनाले समृद्धिको समान वितरणमार्फत लोकतन्त्रलाई परिपूर्ण बनाउँछ भनेको छ। यो यथार्थ आमजनतालाई बुझाउन नसक्दा नवउदारवादको नयाँ रूप भ्रमपूर्ण लोकप्रियतावादले आफूलाई बलशाली ठान्दैछ अनि विचार र चरित्रहीन राजनीतिमार्फत जनतालाई झुक्याउँदैछ।

लोकतान्त्रिक गणतन्त्रलाई परिपूर्ण बनाउन शासन व्यवस्थाको चरित्र र शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणालीको चरित्र पनि मिल्नुपर्छ । अन्यथा जनताको मनस्थिति र देशको परिस्थिति नकारात्मक बनिरहन्छ अनि देशमा नियन्त्रित अस्थिरता बढी रहन्छ। त्यसैले शासन व्यवस्थाको चरित्रअनुसारको शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणालीको चरित्र बनाउन हाम्रो भूमिका बढ्नुपर्छ। यसका लागि नागरिकदेखि नेतृत्वको मनोविज्ञान सकारात्मक र देशलाई हुनुपर्छ।

आज जनादेशबाट सत्ता चलाउने त भनियो तर कुन गुणस्तरको जनादेश भन्ने मुद्दा र प्रश्नले प्राथमिकता पाएन। जसका कारणले चुनाव जित्नका लागि अस्वस्थ प्रतिस्पर्धा गर्ने र खराब प्रवृत्तिसँग समझदारी र साझेदारी गर्नुपर्ने बाध्यता बनिरह्यो। फेरि बुर्जुवा लोकतन्त्रको चरित्र नै “जसको लाठी उसको भैँसी भन्ने हो।” यो चरित्र कायम भएसम्म न लोकतन्त्र परिपूर्ण बन्न सक्छ न त जनअपेक्षाहरूको सम्बोधन गर्ने गरी  समृद्धि र अवसरहरूको समान वितरण गर्ने समाजवाद आउन सक्छ। त्यसैले निर्वाचन प्रणाली र जनादेश प्राप्त गर्ने मापदण्डमा पुनरावलोकन गर्दै बुर्जुवा लोकतन्त्रलाई प्रतिस्थापन गरेर परिपूर्ण लोकतन्त्र बलियो बनाउनु परेको छ ।

अन्तमा बुर्जुवा लोकतन्त्रमा जनादेशको गुणस्तर खोजिदैन्, सङ्ख्या मात्र खोजिन्छ र गनिन्छ। सङ्ख्या धेरै बनाउने अस्वस्थ चक्करमा लाग्दा आदर्श गौण बन्छ। त्यसैले त पार्टीहरू सङ्ख्या बढाउने होडमा लाग्दा वैचारिक स्खलनसँगै राजनीतिको गुणस्तर खस्केको छ। जस्तो चरित्रको प्रणाली अवलम्बन गर्‍यो त्यस्तै चरित्रको पात्र र प्रवृत्ति हाबी हुनु कुनै अनौठो होइन। त्यसैले शासन व्यवस्थाको चरित्र परिपूर्ण बनाउँदै शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणालीको चरित्र पनि प्रगतिशील बनाउनु पर्ने चुनौती थपिएको छ। यो चुनौतीलाई अवसरमा बदल्ने क्षमता र चरित्र परिपूर्ण लोकतन्त्रमा मात्र हुन्छ भनेर हामीले बुझ्नुपर्छ अनि त्यस्तै राजनीति पनि रोज्नुपर्छ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ८ : ३३ बजे