गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्य रूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ ।
‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजनलले जानकारी दिनुभयो । उहाँले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयअनुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गर्नुभयो ।
“इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुन सकेको थिएन”, कार्यालय प्रमुख रिजनलले भन्नुभयो, “अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमित रूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ ।”
कार्यालयले सेवाग्राही र अटो व्यवसायीमा अनिवार्य रूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि सूचितसमेत गरेको छ । “अब उप्रान्त यस कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधन दर्तापश्चात् अनिवार्य रूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ दर्ता जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध गराइनेछ”, कार्यालयको सूचनामा उल्लेख छ । प्रविधिमा आधारित ‘इम्बोस्ड नम्बर प्लेट’मा सवारीसाधन तथा सवारी धनीको सम्पूर्ण विवरण उल्लेख हुने कार्यालय प्रमुख रिजनलले बताउनुभयो ।
प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार ६ : ५६ बजे
प्रतिक्रिया