देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बङ्लाचुलीमा नेपाल टेलिकमको द्रुतगतिको ‘इन्टरनेट’ सेवाको शुभारम्भ

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बङ्लाचुली गाउँपालिकास्थित कमिरेचौरमा नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटीएच) सेवाको बिहीबार शुभारम्भ गर्नुभएको छ । 

सो सेवा थालनी भएसँगै बङ्लाचुली क्षेत्रमा अब द्रुतगतिको ‘इन्टरनेट’ सेवा चल्नेछ । 

अप्टिकल फाइबरमा आधारित  सो सेवा मार्फत ल्याण्डलाइन टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सकिने जनाइएको छ । कमिरेचौरमा पाँच सय १२ लाइन क्षमताका फाइबर डिस्ट्रिब्युसन क्याबिनेट (एफडिसी) जडान गरी सेवा सुरु गरिएको हो ।

नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय काठमाडौँका इन्जिनियर सुरेश भण्डारीका अनुसार पहिलो चरणमा बङ्गलाचुली गाउँपालिकाको कार्यालय, कमिरेचौर बजार र श्रीवारीका गाउँमा यो सेवा उपलब्ध गराइने छ ।

टेलिकमले २५, ५०, १०० र १५० एमबिपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको उहाँले बताउनुभयो । 

सो अवसरमा मन्त्री शर्माले आधुनिक टेलिकम सेवाको पहुँच सबै गाउँपालिकामा पुर्‍याउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो ।  

बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरले बङ्गलाचुलीमा टेलिकमको एफटिटीएच सेवा सुरुभएसंगै यस क्षेत्रका नागरिकलाई सञ्चार क्षेत्रमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १० : ४९ बजे