बल्खुको अवस्था सामान्य

काठमाडाैँ । राष्ट्रिय युवा संघ नेपाल  र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच बल्खुमा भएको झडप  साम्य भएको छ ।  

कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि प्रसाईंका कार्यकर्ताले ढुंगा हानेपछि बल्खुमा केहीबेर झडप भएको थियो । सो क्रममा केहीबेर स्थिति तनावग्रस्त बनेकाे थियाे । 

अहिले सो क्षेत्रलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने अवस्था सामान्य बनेको छ । त्यहाँ प्रसाईंका समर्थकहरु नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।  

प्रसाईंको समूह र युवा संघले आज छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई तीनकुनेमा र प्रसाईं समूहलाई बल्खु चोकमा प्रदर्शनका लागि ठाउँ तोकिदिएको छ । 

त्यसअघि उपत्यकाका विभिन्न स्थानबाट दुबै समूहले जुलुस निकालेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  २ : ०७ बजे