दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मकवानपुरका व्यवसायी करको दायरामा

मनहरी (मकवानपुर) । मकवानपुरमा २२ प्रतिशत जनसङ्ख्या करको दायरामा आएको आन्तरिक राजस्व कार्यालय मकवानपुरले जनाएको छ । 

राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा मङ्गलवार मकवानपुरका सञ्चारकर्मीहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख तुलसीप्रसाद भट्टराईले जिल्लाको सरदर चार लाख ६६ हजार जनसङ्ख्यामध्ये करिब एक लाख दुई हजार छ सय ८९ करदाता करको दायरामा आएको बताउनुभयो । 

उहाँले हालसम्मको करदाता दर्ता सार्वजनिक गर्दै आयकरतर्फ दर्ता भएका ३१ हजार आठ सय ५७, मूल्य अभिवृद्धि करमा दर्ता भएका पाँच हजार पाँच सय ३१, अन्तःशुल्क दर्ता एक हजार छ सय १६, डब्लु प्यानतर्फ छ सय ६८, पि प्यानतर्फ ७० हजार एक सय ६४ करदाता दर्ता भएको बताउनुभयो । 

राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९÷८० को राजस्व लक्ष्य तथा असुलीतर्फ रु सात अर्ब ५० करोड ३९ लाख ४२ हजार राजस्व असुलीको लक्ष्य लिए पनि रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गर्न सफल भएको प्रमुख भट्टराईले बताउनुभयो । 

यस्तै आव २०८०÷८१ को राजस्व लक्ष्य तथा असुलीतर्फ रु आठ अर्ब ८० करोड ४५ लाख २४ हजार लक्ष्य राखेकोमा कात्तिक महिनासम्म रु दुई अर्ब ४७ करोड ५९ लाख ६४ हजार मात्र राजस्व असुली लक्ष्य लिएको र एक अर्ब ८७ करोड ४६ लाख ६४ हजार मात्र राजस्व असुली भएको प्रमुख भट्टराईले बताउनुभयो । 

यस्तै बजार अनुगमन कार्यगत लक्ष्य तथा प्रगतिअनुसार आव २०७९÷८० मा दुई सय ५० लक्ष्य लिएकोमा दुई सय ७६ अनुगमन भएको र आव २०८०÷८१ मा एक सय ५० लक्ष्य राखेकोमा एक सय २० पटक बजार अनुगमनको काम भएको बताउनुभयो । उहाँले प्रविधिमैत्री कर प्रणालीबाट धेरैभन्दा धेरैलाई करको दायरामा ल्याउन कर शिक्षाका कार्यक्रम आयोजना गर्दैअघि बढ्ने बताउनुभयो । 

छलफल कार्यक्रममा कर अधिकृत एवं सूचना अधिकारी गुणराज भण्डारीले कर शिक्षासँगै करदाता र आमसञ्चारमाध्यम बीचको भूमिकाका बारेमा सहजीकरण गर्नुभएको थियो । उहाँले व्यवसाय गर्दा कर तिर्ने प्रक्रिया, ईटिडिएस प्रणाली, दण्ड जरिवानाका बारेमा आमसञ्चार माध्यमले सचेतना जगाउने विषयका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : २९ बजे