सुनको मूल्यमा नयाँ कीर्तिमान

अनलाइनमार्फत सट्टेबाजी खेल खेलाउने ६ जना पक्राउ

काठमाडौँ – अनलाइनमार्फत सट्टेबाजी खेल खेलाएको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटा जिल्ला धनकुटा नगरपालिका-७ घर भई ललितपुर नख्खिपोट बस्ने ३० वर्षीय अङ्कित श्रेष्ठ, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-२ घर भई ललितपुर कुसुन्ती बस्ने २२ वर्षीय आमोश राई, उदयपुर चौदण्डीगढी नगरपालिका-३ घर भई ललितपुर थेचो बस्ने २० वर्षीया निका राई, सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका-७ घर भई ललितपुर भैंसेपाटी बस्ने २९ वर्षीय विजय थापा, बाग्लुङ बरेङ गाउँपालिका-४ घर भई ललितपुर खुमलटार बस्ने २७ वर्षीय पर्वत पुन र सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-२ घर भई ललितपुर कुसुन्ती बस्ने २७ वर्षीय डेकर राई रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनीहरूले अनलाइन ग्यामबलीङ तथा अनलाइन क्यासिनो खेलमा अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचना प्राप्त भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले विभिन्न सामाजिक सञ्जाल लगायत विभिन्न अनलाइन ग्यामबलिङ प्लेटफर्म प्रयोग गरी अनलाईन मार्फत् रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूको साथबाट ल्याप्टप छ थान, राउटर दुई थान, कम्प्युटर तीन थान, मोनिटर दुई थान, सिपीयू एक थान र मोबाइल १४ थान प्रहरीले बरामद गरेको छ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : ५२ बजे