‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मदन भण्डारी कलेजको पुस्तकालय सर्वसाधारणका लागि खुला,धेरै अध्ययन गर्ने तीन जनालाई पुरस्कार

काठमाडाैँ । मदन भण्डारी मेमोरियल कलेजले आफ्नो पुस्तकालय आम सर्वसाधारणका लागि खुला गर्ने भएकाे छ । पठन संस्कृतिकाे विकासका लागि कलेजले विद्यार्थीलगायत आम सर्वसाधारणका लागि पुस्तकालय खुला गर्ने निर्णय गरेकाे हाे । 

हाललाई अध्ययन गर्न चाहने जोसुकै अध्येताका लागि पुस्तकालयको सुविधा पुस्तकालय परिसरमै बसेर लिनुपर्ने व्यवस्था गरिएको छ । समाज, संस्कृति, साहित्य, भाषालगायतका विविध विषयमा नेपाली र अंग्रजी भाषामा लेखिएका करिब १० हजार पुस्तक कलेजको पुस्तकालयमा उपलब्ध छन् ।

पठन संस्कृति विकास गर्नु नेपाली समाजमा अझै पनि चुनौतीको विषय बनिरहेको अवस्थालाई मध्यनजर गरी पुस्तकालयमा आम मानिसको पहुँच विस्तार गर्दै लैजाने पहल सुरु गरेको निमित्त क्याम्पस प्रमुख डाक्टर बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

पुस्तकालय प्रयोगकर्ताले त्रिवि केन्द्रीय डिजिटल पुस्तकालय र यस मार्फत विश्वका विभिन्न डिजिटल डाटाबेस ‘सर्च’ गरी अध्ययन गर्न पाइने प्रबन्ध पनि मिलाइएको कलेजले जनाएको छ । पुस्तकालयबाट वर्षभरिमा सबैभन्दा बढी किताब अध्ययनका लागि लैजाने तीन जना विद्यार्थीलाई पुरस्कृत गरिने कलेजले जनाएको छ ।

यसैगरी क्याम्पसमा आवधिक रूपमा किताबमाथिका परिचर्चा सञ्चालन भइरहेका छन् । यस क्रममा लेखक र समीक्षकहरूलाई आमन्त्रण गरी शिक्षक र विद्यार्थीसँग अन्तरक्रिया गराउने काम नियमित भइरहेका छन् । अनुसन्धान तथा खोजलाई प्रश्रय दिन तथा नयाँ ज्ञान उत्पादन गर्नका लागि कलेजले ‘जर्नल अफ प्रोडक्टिभ डिस्कोर्स’ र ‘श्वेतशार्दुल’ जस्ता जर्नलहरू पनि प्रकाशन गर्दै आएको छ । यस कलेजले समय समयमा काठमाडौँबाहिरका विभिन्न शैक्षिक संस्थाको पुस्तकालय क्षमता अभिवृद्धिका लागि सहयोग स्वरूप पुस्तकहरू उपलब्ध गराउँदै आएको छ ।

सृजनशील, व्यवहारिक र आलोचनात्मक चेतको शैक्षिक जागरण अभियानमा विगत दुई दशकभन्दा लामो समयदेखि क्रियाशील मदन भण्डारी मेमोरियल कलेजको मुख्य ध्येय पठनलाई सोख होइन, संस्कृति बनाउनु रहेको निमित्त क्याम्पस प्रमुख डा. अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ४ : २१ बजे