दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विश्वकपको फाइनलमा भारत पराजित भएपछि हृदयाघातका कारण समर्थकको मृत्यु

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतीय टोली बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग पराजित भएपछि एक भारतीय समर्थकको हृदयाघातका कारण निधन भएको छ । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति खेलिएको फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले कीर्तिमानी रूपमा छैटौँपटक एकदिवसीय विश्वकपको उपाधि चुमेको थियो । 

यसपटक घरेलु मैदानमा भारतले एकदिवसीय विश्वकपको उपाधि जित्नेमा भारतीय समर्थकहरू बढी नै आशावादी थिए । भारतीय टोली प्रारम्भिक चरणमा आफूले खेलेका नौवटै खेल जित्दै सेमिफाइनलमा पुगेकाले पनि भारतीय समर्थक समर्थक उपाधिप्रति बढी नै आश्वस्त देखिएका थिए ।

त्यसमाथि भारतीय टोलीले सेमिफाइनलमा पनि साविक उपविजेता राष्ट्र न्युजिल्यान्डलाई निरीह बनाएको थियो । यसका अतिरिक्त प्रतियोगिताको प्रारम्भिक चरणमा एकपटक भारतले अस्ट्रेलियालाई ठूलोअन्तरले पराजयको स्वाद चखाइसकेको थियो । 

तर, फाइनलमा अप्रत्याशित रूपमा अस्ट्रेलियाले आफ्नो टोलीलाई हराएपछि हृदयाघातका कारण आन्ध्र प्रदेशको तिरुपति जिल्लामा एक समर्थकको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, ३२ वर्षीय ज्योतिस कुमार यादवको हृदयाघातका कारण निधन भएको हो । 

उनी पेसाले कम्प्युटर इन्जिनियर थिए । उनले सुरुदेखि आफ्नो घरमा बसेर विश्वकपको फाइनल खेल हेरिरहेका थिए । खेलमा भारतीय टोली पराजित भएपछि उनले असहज महसुस गरेका थिए । हारसँगै भारतीय टोलीका कप्तान रोहित शर्माले आँसु खसालेको देखेपछि यादवलाई हृदयाघात भएको बताइएको छ । 

यादवको परिवारका सदस्यले बताएअनुसार, टेलिभिजनमा रोहित शर्मा रोएको देखेपछि उनलाई हृदयाघात भएको थियो । उनलाई तत्कालै तिरुपतिस्थित अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकहरूले अस्पताल पुर्‍याइनुअघि नै उनको मृत्यु भइसकेको जानकारी गराएका थिए । 

यादव केही समयअघि मात्र वैवाहिक बन्धनमा बाँधिएको पनि परिवारका सदस्यले जनाएका छन् । तिरुपति ग्रामीण विकास समितिका अध्यक्ष मोहिथ रेड्डीले सोमबार यादवको घर पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  २ : ०७ बजे